मोडल, नायिका हुँदै लेखिका बनेकी बिनिताका कुरा


मोडल, अभिनेत्री, व्यवसायी, विद्यार्थीपछि अब लेखिका। विनिता बरालको नामसँग यी चारवटा परिचय एकसाथ जोडिएका छन्। मोडलिङ गर्दागर्दै चलचित्र ‘चपली हाइट’ बाट नायिका भएकी विनिताले त्यसपछि लगातार तीनवटा चलचित्रमा अभिनय गरिन्। ‘फूलस्टप’ तथा ‘सुपरहिट’ प्रदर्शन भैसकेका छन् भने ‘उमंग’ प्रदर्शनको क्रममा छ।

चलचित्रमा अभिनय गरेलगत्तै बिनिताले कृषिलाई व्यवसाय बनाइन्। उनले काठमाडौंनजिकैको एउटा गाउँमा कृषि फार्म स्थापना गरेर व्यवसायिक तरकारी खेती गरिन्, जुन अहिले पनि जारी छ। करिब एक वर्षअघि उनी उच्च शिक्षा अध्ययनका लागि अमेरिका प्रस्थान गरिन्। अमेरिकाको जर्जिया राज्यको एट्लान्टास्थित हर्जिन युनिभर्सिटीमा एमबीए अध्ययनरत बिनिता यतिबेला काठमाडौंमा छिन्।

Binita-Baral-Book-JUINO-featured

दुईमहिने काठमाडौं बसाइका क्रममा बिनिताले आफूलाई लेखिकाका रूपमा प्रस्तुत गरिन्। उनले लेखेको उपन्यास ‘जुइनो’ को हालै राजधानीमा आयोजित एक कार्यक्रमक बीच सार्बजनिक गरिएको छ। कार्यक्रमको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।

‘अबको दुई वर्षपछि म सधैंका लागि नेपाल फर्कनेछु,’ बिनिताले भनिन् ‘व्यवस्थापन संकायमा उच्च शिक्षा हासिल गरेपछि नेपाल आएर ‘एग्रो–टुरिज्म’मा सक्रिय हुनेछु।’ बिनिताले कृषिलाई व्यवसाय बनाए पनि अभिनयलाई सौखका रूपमा निरन्तरता दिइरहने स्पष्ट पारिन्।

आफूलाई चलचित्रको अभिनयले नै स्थापित बनाएकाले यो विधाबाट टाढा जान नसक्ने उनको तर्क छ। कृषि र प्रेमलाई सँगै बाटेर तयार पारिएको ‘जुइनो’ सँगै बिनिताले लेखनलाई पनि निरन्तरता दिने संकेत गरेकी छिन्। ‘पहिलो कृतिको प्रतिक्रियापछि मेरो लेखन भविष्यका बारेमा केही भन्न सक्नेछु।’

प्रेम र रोमान्सबाट आफूलाई जोगाउँदै आएको दाबी गर्ने बिनिताले दुई वर्षपछि नेपाल फर्किएर वैवाहिक जीवन प्रारम्भ गर्ने योजना सुनाउँदै भनिन्— ‘विश्वास गर्नुहोस् वा नगर्नुहोस्, म अहिले बिल्कुलै सिंगल छु।’

शब्द : कृष्ण भट्टराई | तस्विर : महेश प्रधान / कमल श्रेष्ठ

SUBSCRIBE 👉