चलचित्र पत्रकारितामा विदुरलाई सम्मान, राज र कृष्णलाई पुरस्कार


bidur-giri-krishna-bhattarai-raj-shrestha

Bidur Giri | Krishna Bhattarai | Raj Shrestha

ग्ल्यामर नेपाल, काठमाडौं । चलचित्र पत्रकार संघले यस वर्ष ‘चलचित्र पत्रकारिता सम्मान–२०७१’ वरिष्ठ चलचित्र पत्रकार विदुर गिरीलाई प्रदान गर्ने भएको छ। झण्डै दुई दशकदेखि चलचित्र पत्रकारितामा कलम चलाउँदै आएका संघका पूर्व अध्यक्ष समेत रहेका गिरीलाई उक्त सम्मान प्रदान गर्न लागिएको हो।

पत्रकार गिरी हाल चर्चित फिल्मी पत्रिका कामनाका सम्पादक र नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका समाचार सम्पादकका रुपमा कार्यरत छन्। उनले संघमा दुई कार्यकाल निर्वाचित अध्यक्षका रुपमा काम गरिसकेका छन्। ‘सम्मान र पुरस्कार मैले अन्य क्षेत्रबाट पनि पाएको छु, तर यो आफ्नै संस्थाले गर्ने सम्मान भएकाले यसको महत्व बेग्लै छ,’सम्मान पाउने निर्णय सुनेपछि पत्रकार गिरीले भने,‘यो निर्णयले म अत्यन्त खुशी छु, कामको सही मूल्यांकन भएको अनुभव गरेको छु।’ गिरीलाई ताम्रपत्र र ट्रफीसहित सम्मान प्रदान गरिनेछ।

यसैगरी बैठकले यस वर्र्षको ‘चलचित्र पत्रकारिता पुरस्कार–२०७१’ पत्रकारद्वय कृष्ण भट्टराई र राज श्रेष्ठलाई दिने निर्णय गरेको छ। पत्रकार भट्टराई कान्तिपुर साप्ताहिकका वरिष्ठ उपसम्पादक हुन्। ‘मलाई एकदम खुशी लागेको छ, यो निर्णयले म उत्साहित भएको छु, कामको मूल्यांकन भएको अनुभव गरेको छ,’विगत १८ वर्षदेखि पत्रकारितामा सक्रिय भट्टराईले भने,‘कामको राम्रो मुल्यांकन भएको अनुभव लिएको छु, पुरस्कारले पत्रकारितामा झन खटेर काम गर्ने जोश जाँगर बढाइदिएको छ।’

अर्का पत्रकार श्रेष्ठ स्टार एफएममा कार्यक्रम संयोजक एवं प्रस्तोता र कलिउड खबर डटकमका सम्पादक हुन्। ‘मलाई एकदम खुशी लागेको छ, मैले जुन क्षेत्रमा दत्तचित्त भएर काम गरे, आज त्यही क्षेत्रले मेरो मूल्यांकन गरेकोमा म अत्यन्त आभारी छु ।’ १३ वर्षदेखि चलचित्र पत्रकारिता गरिरहेका श्रेष्ठले भने । पत्रकारद्वय भट्टराई र श्रेष्ठले १५ हजार ५ सय ५५ रुपैयाँ तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।

संघका अध्यक्ष शान्तिप्रियको अध्यक्षतामा बसेको बैठकले संघको प्रतिनिधित्व गर्दै नेपाल पत्रकार महासंघका लागि पार्षद भएका तथा यसैपटक सम्पन्न महासंघको महाधिवेशनमा एसोसिएट सचिव पदमा अत्याधिक मतले विजयी भएका चलचित्र पत्रकार ध्रुब लम्साललाई पनि विशेष सम्मान गर्ने निर्णय गरेको छ। सम्मान र पुरस्कार संघको १६ औं स्थापना दिवस तथा चलचित्र पत्रकारिता दिवसको अवसर पारेर आगामी जेठ ७ गते प्रदान गरिनेछ।

SUBSCRIBE 👉