महिला हिंसाविरुद्धको मिसन ४२०


mission-420
ग्ल्यामर नेपाल, काठमाडौं । नेपालमा नारीप्रधान फिल्महरु बन्ने क्रम पुरानै हो। यस फ्लेबरका फिल्म नेपालमा भित्र्याउने श्रेय विशेषत निर्देशक स्व. शिव रेग्मीलाई जाने गरेको छ। उनको शैली पछ्याउँदै धेरै निर्देशकहरुले नारीप्रधानलाई फिल्ममा प्राथमिकता दिँदै आएका छन्। आगामी शुक्रबारबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘मिसन ४२०’ले पनि यस्तै शैलीको कथा प्रस्तुत गरेको छ।

फिल्मले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै रिलिजको बारे जानकारी गराएको छ। हालसम्म ४२ वटा फिल्म निर्देशन गरिसकेका अनुभवी निर्देशक दयाराम दाहालले फिल्मको निर्देशन गरेका हुन्। ‘वर्तमान समयमा पनि महिला हिंसाका विरुद्ध आवाज उठिरहेको बेला यस्तै कथाबस्तुको यो फिल्मले दर्शकको मन जित्नेमा म ढुक्क छु’ दाहालले भने। फिल्मकी नायिका महिमा सिलवालले फिल्ममा आफ्नो चरित्र सक्षम किसिमको भएकाले आफ्नो भूमिकालाई दर्शकले रुचाउने विश्वास गरिन्। ‘महिला हिंसाविरुद्धको आवाज फिल्मले जटिल रुपमा उठाएको छ, त्यसकारण पनि फिल्म राम्रो बनेको छ ’उनले भनिन्।

दुई दशकदेखि फिल्म पत्रकारिता गरिरहेका पत्रकार कुमार विष्टले फिल्मको निर्माण गरेका हुन्। फिल्ममा सुमन सिंह, सुनिल थापा, राजाराम पौड्याल, रविन्द्र खड्का, निर्मल शर्मा, श्याम राई, निर्मल सेञ्चुरी, उत्तम केसी, शेखर खनाल, ओम प्रतिक, पवन जोशी, महिमा सिलवाल, कृष्टि पौडेललगायतका कलाकारको अभिनय रहेको छ। दर्शन दाहाल र मन्दिल श्रेष्ठसमेत निर्माता रहेको फिल्ममा कुमार विष्टको कथा, ओम प्रतिकको पटकथा संवाद, ताराप्रकाश लिम्बुको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, कविराज गहतराजको नृत्य र श्याम रायमाझीको छायांकन रहेको छ। फिल्म कुशल फिल्मस् प्रा.लि.को व्यानरमा बनेको हो।

SUBSCRIBE 👉