ग्ल्यामर नेपाल, काठमाडौं । फिल्म वृत्तमा निशा अधिकारी र प्रियंका कार्की मिल्ने साथीका रुपमा परिचित छन्। प्रियंकाभन्दा निशा सिनियर हुन् तर पछिल्लो समय उनले निशालाई उछिनिरहेकी छिन्। कतिसम्म भने हालै प्रियंकाले रिजेक्ट गरेको फिल्म ‘आभाष’ निशाको पोल्टामा परेको छ। सहरमा चर्चा र प्रशंशा पनि निशाको तुलनामा प्रियंकाको धेरै छन्। यसरी व्यक्तिगतसम्बन्ध राम्रो भएपनि व्यावसायिकरुपमा प्रतिस्पर्धा गरिरहेको यी दुई हिरोइनको फिल्म एकै दिन रिलिज हुने भएको छ। साउन १६ गते प्रियंकाको ‘पुन्टे परेड’ र निशाको ‘मेरो भ्यालेन्टाइन’ जुध्ने भएका हुन्। यस अघि साउन २ गते रिलिज हुने भनिएको ‘पुन्टे परेड’ दुई साता पर धकेलिएको हो।
हुन त ‘पुन्टे परेड’मा प्रियंकाको भूमिका छोटो छ तर स्टार भ्यालुका कारण हुनुपर्छ, निर्माण पक्षले प्रमोशनमा प्राथमिकता दिएको छ। प्रियंका र फिल्मका अभिनेता संयम पुरीले रोमान्स गरेको एक गीत सार्वजनिक भएपछि फिल्मको चर्चा चुलिएको छ। खासगरी युवापुस्तालाई फिल्मले हलमा आकर्षित गर्ने अनुमान गरिएको छ। उता, सुरज सुब्बा नाल्बो निर्देशित ‘मेरो भ्यालेन्टाइन’का निशाको लिड रोल छ। करिब तीन वर्ष अगाडी नै निर्माण कार्य सकिएको यो फिल्म बल्ल रिलिज हुँदैछ। फिल्ममा निशासहित बाबु बोगटी, स्वतन्त्रप्रताप शाह, सुस्मिता ढकाललगाएतका कलाकारको अभिनय रहेको छ।
निशा अभिनित पछिल्ला फिल्महरु ‘मायाज बार’, ‘धुँवा यो नशाको’, ‘पद्यमिनी’, ‘मुखौटा’ लगातार असफल भएका छन्। त्यसैले ‘मेरो भ्यालेन्टाइन’को बक्स अफिस कलेक्सनले उनको फिल्मी करिअर निर्धारण गर्ने विश्लेषण गरिएको छ तर प्रियंकाको ‘पुन्टे परेड’ निशाको सफलताको बाटोमा अवरोध बन्ने लगभग पक्का छ। त्यससँगै यी दुई फिल्मको बिजनेशले निशा र प्रियंकाको लोकप्रियताको ग्राफ पनि देखाउने छ सायद।