च्यारिटी शोमा भाग लिन काठमाडौं आउँदै अनुपम खेर


anupam-kher

ग्ल्यामर नेपाल, काठमाडौं । पछिल्लो समय बलिउड कलाकारहरुको नेपाल आगमन बढिरहेको छ। बितेका ६ महिनामा अक्षयकुमार, अरसद वारसी, सन्नी लियोन जस्ता बलिउड हस्तिहरु काठमाडौं आए। यही सुचीमा अर्का एक चर्चित कलाकार थपिने भएका छन्। उनी हुन्, अभिनेता तथा टेलिभिजन प्रस्तोता अनुपम खेर। कोसेली फाउन्डेसनको आयोजनामा हुन लागेको च्यारिटी कार्यक्रममा सहभागी हुन खेर भदौ ६ गते काठमाडौं आउने पक्का भएको छ।

काठमाडौं शान्तिनगरस्थित कोसेली विद्यालयमा अध्ययनरत सुकुम्बासी तथा मजदुरका १ सय २० बढी बालबालिकाको अध्ययनमा सहयोग पुर्‍याउने उद्येश्यले कार्यक्रम आयोजना गर्न लागिएको फाउन्डेनजले जनाएको छ। हालै मात्र टेलिभिजन शो मार्फत दर्शकमाझ देखापरिरहेका खेरले सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा साँढे २ घण्टा आफ्नो एकल प्रस्तुती दिनेछन्। प्रस्तुतीकै दौरानले उनले आफ्नो फिल्मी करिअरका बारेमा पनि उपस्थित दर्शकसँग साक्षात्कार गर्ने बताइएको छ।

आयोजकका अनुसार शोमा सहभागिता जनाउन भिआइपी टिकटको ८ हजार, गोल्डेनको ५ हजार, सिल्भरको ३ हजार र ब्रन्ज टिकटको १ हजार ५ सय रुपियाँ शुल्क तोकिएको छ। जुन रकम गरिब विद्यार्थीको अध्ययनमा खर्च गरिनेछ।