
वर्षा र हिमपातले हिमालपारिको जिल्ला मुस्ताङमा नेपाली फिल्म ‘कबड्डी ५’ को छायांकन अवरुद्ध भएको छ। बाँसुरी फिल्म्सले निर्माण गरिरहेको फिल्मको छायांकन तल्लो मुस्ताङको लार्जुङ क्षेत्रमा भैरहेको थियो।
कार्यकारी निर्माता मणिराम पोखरेलका अनुसार, मंगलबारदेखि सम्पूर्ण छायांकन तालिका रोकिएको छ। उनी भन्छन्, ‘हामी अहिले मौसम सुधारको पर्खाइमा छौं। स्थिति सामान्य हुनासाथ सुटिङ पुनः सुरु गर्ने योजना छ।’ सो क्षेत्रमा हिमपातभन्दा बढी लगातार वर्षा भइरहेको छ।
फिल्म ‘कबड्डी ५’ का कलाकार र निर्माता अर्को साता काठमाडौं फर्केर ‘जारी २’ को प्रचार–प्रसारमा सहभागी हुने तयारीमा छन्। यसअघि नै छायांकन टुंग्याउनुपर्ने भएकाले निर्माण टोली खराब मौसमका कारण अहिले तनावमा परेको छ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले वर्षा र हिमपात बढ्ने उच्च सम्भावना रहेकाले सतर्कता अपनाउन र अनावश्यक पदयात्रा नगर्न सूचना जारी गरेको छ। प्रशासनको आग्रहअनुसार निर्माण टोलीले काम रोकिएको जनाएको हो।
जल तथा मौसम विज्ञान विभागका अनुसार, बंगालको खाडीमा सक्रिय मोन्था चक्रवात शक्तिशाली बन्दै नेपालमा वर्षा र हिमपात गराइरहेको छ। विभागले शुक्रबारसम्म देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात जारी रहने अनुमान गरेको छ।
