
फिलिपिन्समा भईरहेको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस अर्थ २०२५’ को ट्यालेन्ट राउन्डमा नेपालले स्वर्ण पदक जितेको छ। नेपालकी सुन्दरी मिस नेपाल अर्थ सोनी घलेले नेपालको प्रतिनिधित्व गर्दै यो उपलब्धि हासिल गरेकी हुन्। मिस अर्थको अफिसियल इन्स्टाग्राम पेजमार्फत सोनीको जितबारे जानकारी सार्वजनिक गरिएको हो।
पोस्टमा लेखिएको छ: ‘मिस अर्थको ट्यालेन्ट प्रतिस्पर्धामा नेपालकी सोनी घलेले गोल्ड मेडल जित्दै पहिलो स्थान हासिल गरेकी छन्। बधाई छ, सोनी! तिमीले नेपाललाई गर्विलो बनाएकी छौ।’
उनको जितसँगै बधाई र शुभकामनाको ओइरो लागेको छ। सोनीको प्रस्तुति समावेश गरिएको भिडियोहरू सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर भइरहेका छन्।
मिस नेपाल आयोजक संस्था ‘द हिडन ट्रेजर’का निर्देशक प्रमोद कंशाकारका अनुसार, सोनीले ट्यालेन्ट राउन्डमा ‘फायर ग्रुप’ बाट प्रतिस्पर्धा गरेकी थिइन्। प्रतियोगितामा सहभागीहरूलाई विभिन्न समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो।
‘द सिल्भर लाइनिङ’ थिमसहित मिस अर्थको २५औं संस्करण अहिले फिलिपिन्सको मनिलामा भईरहेको छ। प्रतियोगिताको फाइनल ५ नोभेम्बरमा हुँदैछ।
