
ड्रेस टु इम्प्रेस – सिजन १२ मा सिर्जनात्मक ऊर्जा, कलात्मक सीप र फेशन सौन्दर्यले झल्किएको देखियो। आईआईएफटी स्कुल अफ फेशन एण्ड इन्टेरियर डिजाइनिङ द्वारा आयोजना गरिएको तथा शेरपा ग्रुप द्वारा पावर्ड गरिएको यस फेशन शो तथा प्रतियोगितामा आईआईएफटीका १०० भन्दा बढी फेशन डिजाइनिङ विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रह्यो। कार्यक्रममा सहभागी प्रत्येक डिजाइनरले आफूले डिजाइन तथा निर्माण गरेको एकल परिधान स्वयं र्याम्पमा प्रस्तुत गर्दै आफ्नो पहिचान र सोचलाई अभिव्यक्त गरेका थिए।
कार्यक्रमलाई विविध अवधारणामा आधारित सेग्मेन्टहरूमा प्रस्तुत गरिएको थियो, जहाँ प्रत्येक डिजाइनरले तोकिएको थिमअनुसार सिर्जना गरेको पोशाकमार्फत मौलिकता, डिजाइन चेतना र प्राविधिक दक्षता प्रदर्शन गरेका थिए। जस अनुसार डेनिम फिचर सेग्मेन्टमा रेजिना श्रेष्ठ विजेता घोषित भइन्। यस सेग्मेन्टमा प्रस्तुत परिधानहरूले डेनिमको कालजयी स्वरूप, मजबुती, बहुपयोगिता तथा दिगो फेशनप्रतिको सम्भावनालाई सशक्त रूपमा उजागर गरेको देख्न पाइयो। ग्ल्याम इन प्याच सेग्मेन्टमा प्रतिक गुरुङ उत्कृष्ट बने। यस सेग्मेन्टमा पुनःप्रयोग र सचेत फेशनलाई विलासितासँग समायोजन गर्दै सिक्विन, मेटालिक टच, कलात्मक कढाई र समृद्ध बनावट प्रयोग गरिएका आकर्षक प्याचवर्क परिधानहरू देखाइएको थियो।
वन्य जीवन र प्रकृतिबाट प्रेरित एक्जोटिक फौना सेग्मेन्टमा इमायुंग राई शीर्ष स्थानमा रहन सफल भइन्। यस सेग्मेन्टमा सशक्त सिलुएट, जैविक बनावट र अर्थी टोन प्रयोग गरिएका परिधानहरूले आत्मविश्वास र प्राकृतिक सौन्दर्यको भाव प्रस्तुत गरिएको थियो। इकोज अफ टाइम सेग्मेन्टमा सेलिना शाही विजेता छनौट भइन्। यस सेग्मेन्टमा अतीत, वर्तमान र भविष्यबीचको संवादलाई क्लासिक सिलुएट, पुराना बनावट र हस्तकलात्मक विवरणमार्फत आधुनिक फेशन अभिव्यक्तिमा रूपान्तरण गरिएको थियो।
र्याम्प प्रस्तुतिसँगै डिजिटल सहभागितालाई प्रोत्साहन गर्दै आईआईएफटी लाइक्स लेजेन्ड च्याम्पियन उपाधि निलम दास, आईआईएफटी सेयर्ड स्टर्म च्याम्पियन आयुषा श्रेष्ठ, तथा आईआईएफटी पब्लिक च्वाइस अवार्ड प्रमिला श्रेष्ठले प्राप्त गरे, जसले प्रतियोगिताको समावेशी र सहभागितामूलक चरित्रलाई थप बलियो बनाएको पाइयो।
कार्यक्रमको कोरियोग्राफी तथा सञ्चालन फेशन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्य ले गरेका थिए। कार्यक्रममा अभिनेत्री निती शाह सहित मिस नेपाल वल्र्ड २०२५ लुना लुईंटेल, मिस नेपाल कोस्मो २०२५ दीपशिखा नेपाल, मिस नेपाल अर्थ २०२५ सोनी घले तथा मिस नेपाल इन्टरनेशनल २०२५ उरुषा भण्डारीको विशेष स्टेज उपस्थितिले कार्यक्रमलाई थप भव्यता र प्रेरणादायी बनायो।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणाको प्रमुख आतिथ्यता रहेको सो प्रतियोगितात्मक कार्यक्रमको मूल्याङ्कन मुक्ता श्रेष्ठ, मनीष राई, महेश महर्जन, अंकित मैती, अन्चु पाण्डे र निशा श्रेष्ठ सम्मिलित चर्चित फेसन डिजाइनरहरुको निर्णायक मण्डलले गरेको थियो।
