
ललितपुरस्थित कार्यविनायक मन्दिरमा पूजा अर्चना गर्दै नयाँ नेपाली चलचित्र ‘बेहुली’को शुभ मुहूर्त सम्पन्न गरिएको छ। ‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को प्रस्तुतिमा निर्माण हुन लागेको यस चलचित्रको मुहूर्तसँगै छायाङ्कन र प्रदर्शन मिति पनि घोषणा गरिएको छ। निर्माता अर्जुन पोखरेलका अनुसार यसै साताबाट छायाङ्कनमा निस्कन लागेको यो चलचित्र आगामी वर्षको हरितालिका तीजको अवसर पार्दै भदौ १२ गतेबाट दर्शकमाझ आउनेछ।
लामो समयदेखि नेपाली सुगम सङ्गीत तथा चलचित्र सङ्गीतमा दर्जनौँ हिट गीत दिएर दर्शक तथा श्रोताको मन जित्दै आएका चर्चित सङ्गीतकार अर्जुन पोखरेल ‘बेहुली’मार्फत पहिलो पटक चलचित्र निर्माणमा होमिएका हुन्। चलचित्रको सङ्गीत निर्देशन समेत आफैले सम्हालेका पोखरेलको यो नयाँ फिल्मी यात्रालाई निकै चासोका साथ हेरिएको छ। प्रताप राणाको निर्माण रहेको यस चलचित्रको निर्देशन सशान कँडेलले गर्दैछन् भने कथा माधव शर्माले लेखेका हुन्। निर्देशक कँडेल र लेखक शर्मा दुवै चलचित्र ‘होस्टेल ३’ का निर्देशक तथा लेखक हुन्। ‘होस्टेल ३’ पछि यी दुईको बलियो सहकार्य ‘बेहुली’मा पनि दोहोरिएको छ।
चलचित्रमा ‘होस्टेल ३’ बाटै डेब्यु गरेका पारस बम ठकुरी (कुलब्वाय) ले प्रमुख नायकको भूमिका निर्वाह गर्दैछन्। पर्दामा उनको जोडीको रूपमा अभिनेत्री दिव्या रायमाझी देखिनेछिन्। यसका साथै ‘तीन घुम्ती’, ‘सपना तिम्रो मेरो’, ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ जस्ता चलचित्रमा आफ्नो दमदार अभिनय पस्किसकेका अनुभवी अभिनेता सुशान्त कार्कीको पनि यस चलचित्रमा महत्त्वपूर्ण भूमिका रहनेछ। चलचित्रमा पदम तामाङ, सन्तोष बानिया, सरिता गिरी, लोकेन्द्र लेखक, सबिन कट्टेल र समायरा थापा मगर लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ।
कार्यकारी निर्माता सुमन थिङ तामाङ र सह-निर्माताहरू दुर्गा खरेल र रमेश सिलवाल रहेको ‘बेहुली’मा शङ्कर कोइराला क्रिएटिभ प्रोड्युसरको रूपमा छन्। नरेन्द्र मैनालीको छायाङ्कन (डीओपी) रहने चलचित्रलाई विकास दाहालले सम्पादन गर्नेछन् भने द्वन्द्व निर्देशनको जिम्मा रोशन श्रेष्ठले पाएका छन्।
यस्तै, चलचित्रको मुख्य सहायक निर्देशकमा सुदीप कुँवर, सहायक निर्देशकमा योगेन्द्र कार्की र मार्लोभ ढुङ्गाना रहेका छन् भने प्रोडक्सन हेडको जिम्मेवारी यम प्रसाद ओलीले सम्हालेका छन्। राजु वाइबाको मेकअप, किशोर नेपालको प्रोडक्सन डिजाइन र एलेक्स बासुकलाको पहिरन डिजाइन रहने चलचित्रको पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) ले गरेका हुन्। चलचित्रलाई काठमाडौँ उपत्यकाभित्र काफिया फिल्म्स र उपत्यकाबाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्नेछन् भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।
READ IN ENGLISH: Arjun Pokharel Debuts as Producer with ‘Behuli’ Featuring Divya Rayamajhi, Paras Bam Thakuri and Sushant Karki
