
आगामी वर्ष बैशाख १५ देखि १७ गतेसम्म ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (NERUFF) को पाँचौँ संस्करण सर्लाही जिल्ला, चन्द्रनगर गाउँपालिकामा आयोजना हुने भएको छ। यस महोत्सवको उद्देश्य नेपाली मौलिक ग्रामीण कथामा आधारित चलचित्रलाई प्रोत्साहन गर्नु र ग्रामीण संस्कृतिसँग दर्शकलाई जोड्नु हो।
महोत्सवको तयारी कार्य पहिले नै सुरु भइसकेको छ। चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो र आयोजक संस्था सेलिब्रेटी नेपाल प्रतिष्ठान का अध्यक्ष रघुनाथ सापकोटा बीच विस्तृत छलफल सम्पन्न भइसकेको छ।
यसपटक महोत्सव “हिमाल, पहाड, तराई कोही छैन पराइ” भन्ने मूल नारासहित तराई क्षेत्रमा फैलिँदैछ। विगतका संस्करणहरू पहाडी क्षेत्रमा सफलतापूर्वक सम्पन्न भएका थिए भने यस संस्करणले ग्रामीण कथा, स्थानीय संस्कृति र समुदाय–केन्द्रित सिनेमा दर्शक समक्ष पुर्याउने लक्ष्य राखेको छ। “सबैको सिनेमा, सबैका लागि” भन्ने अवधारणालाई अझ सशक्त बनाउन महोत्सवले तराईका दर्शक र सर्जकलाई समेट्नेछ।
ग्रामीण परिवेशमा आधारित फिल्मलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै आएको यस महोत्सवले “हाम्रो गाउँ, हाम्रो कथा, हाम्रो सिनेमा” भन्ने नारालाई सार्थक बनाउने काम गर्दै आएको छ।
यसपटक महोत्सवका लागि फिचर, सर्ट फिल्म तथा विभिन्न भाषाभाषी फिल्म गरी ५० भन्दा बढी आवेदन प्राप्त भएका छन्। निर्णायक मण्डलद्वारा छनोट गरिएका फिल्महरू महोत्सवमा प्रदर्शन गरिनेछन् भने उत्कृष्ट चलचित्रहरूलाई विभिन्न विधामा पुरस्कार प्रदान गरिनेछ।
महोत्सवको दौरान ग्रामीण परिवेश झल्किने छोटा चलचित्र, डकुमेन्ट्री, फिचर फिल्म र बहुभाषी फिल्महरू गाउँकै दर्शकमाझ निशुल्क प्रदर्शन गरिनेछ। अफिसियल सेलेक्सन सूची आगामी हप्ताभित्र सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ।
अध्यक्ष सापकोटाका अनुसार, महोत्सवले नेपाली ग्रामीण चलचित्रप्रति दर्शकको आकर्षण बढाउने, नियमित रूपमा चलचित्र हेर्ने संस्कार विकास गर्ने र स्थानीय भाषा, कला, संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। उनले भने, “आफ्नै गाउँ, आफ्नै भाषा, आफ्नै चलचित्रका साथ ग्रामीण कथामा आधारित फिल्मलाई प्राथमिकता दिँदै आएका छौँ। यसले चलचित्र भवन नभएका गाउँमा पनि सिनेमा संस्कृतिसँग जोड्ने विश्वास जगाउँछ।”
NERUFF ले पहिले गोरखा, काभ्रेपलाञ्चोक, रामेछाप र रसुवा मा संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको छ। मधेश प्रदेशमा अपेक्षाकृत कम चलचित्र गतिविधि भएकाले यसपटकको संस्करण अझ विशेष हुने महोत्सव संयोजक कमल एक्चै मगरले बताए। महोत्सव चलचित्र विकास बोर्ड र चन्द्रनगर गाउँपालिकाको सहकार्यमा आयोजना हुनेछ।
