‘लालीबजार’को दोस्रो गीत ‘मिठो संसार’ रिलिज, आमा–छोरीको भावुक कथा

फिल्म ‘लालीबजार’को दोस्रो गीत ‘मिठो संसार’ रिलिज। स्वस्तिमा खड्का लगायत कलाकार फिचर्ड रहेको गीतले आमा–छोरीबीचको प्रेम र भावनात्मक कथा प्रस्तुत गर्छ। पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ले करोड भ्यूज पार गरेपछि नयाँ गीत सार्वजनिक गरिएको हो।


षट्कोण आर्टसको निर्माणमा तयार भएको फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक गरिएको छ। फिल्मका दृश्यहरू समेटेर तयार गरिएको लिरिकल भर्सनको गीतमा स्वस्तिमा खड्का, प्रसंशा सुवेदी र बाल कलाकार समाइरा थापा लगायतका कलाकार फिचर्ड छन्।

जयन जे वाइवाको शब्द तथा सङ्गीत रहेको गीतमा समीक्षा अधिकारी, दिलिजा रुवाली, अलिशा शर्मा र पुर्णिमा तामाङको स्वर रहेको छ। साथै, गुराँस ठकुरी र गायत्री राना मगरको कोरसले गीतलाई थप मधुर बनाएको छ।

यसअघि रिलिज भएको गीत ‘मायालाई के दिउँ म बैना’ ले युट्युबमा एक करोडभन्दा बढी भ्यूज पाएपछि निर्माण टिमले दोस्रो गीत सार्वजनिक गरेको हो। उक्त सफलतापछि निर्माण पक्षले केक काट्दै खुसी पनि साटेको थियो।


फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ हेर्न यहाँ क्लिक गर्नुहोस्


फिल्मका लेखक तथा निर्देशक यम थापाका अनुसार नयाँ गीत फिल्मको मुख्य कथासँग गहिरो रूपमा जोडिएको छ। उनले बताए अनुसार, गीतमा आमा र छोरीबीचको माया, त्याग र हुर्काउने संघर्षलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ।

बर्दियाको राजापुरमा छायांकन गरिएको फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार लगायतका कलाकारको अभिनय रहेको छ।

यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले अभिनयमा डेब्यु गर्दैछन्। विशाल थियटर पृष्ठभूमिका कलाकार हुन् भने प्रसंशा नयाँ पुस्ताकी चर्चित अनुहारका रूपमा परिचित छिन्।

निर्देशक यम थापाको कथा तथा निर्देशनमा बनेको ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन्।

फिल्म ‘लालीबजार’ आगामी वर्ष विसं २०८३ वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ।


यो पनि पढ्नुहोस्: ‘राम नाम सत्य’को दमदार ट्रेलर: एक्सन, प्रेम र सस्पेन्सले भरियो चर्चा


SUBSCRIBE 👉