दुई पुस्ताको कथा बोकेको ‘चिरञ्जीवी भव’को शुभमुहूर्त, जेठ १५ बाट सुटिङ सुरु

निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को नयाँ चलचित्र ‘चिरञ्जीवी भव’को शुभमुहूर्त सम्पन्न भएको छ। हरिवंश आचार्य, प्रियंका कार्की, आशीर्वाद क्षेत्री लगायत कलाकार रहेको फिल्म जेठ १५ बाट छायांकनमा जानेछ।


निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को नयाँ चलचित्र ‘चिरञ्जीवी भव’को शुभमुहूर्त सम्पन्न भएको छ। निर्माण टिमले आज ललितपुरस्थित बंगलामुखी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै औपचारिक रूपमा चलचित्रको शुभमुहूर्त गरेको हो।

शुभमुहूर्त कार्यक्रममा निर्देशकसहित चलचित्रका प्रमुख कलाकारको उपस्थिति रहेको थियो। चलचित्रको पहिलो सट वरिष्ठ कलाकार हरिवंश आचार्यले दिएका थिए। निर्माण टिमका अनुसार हरिवंशले दिएको पहिलो सटले चलचित्रको शीर्षक ‘चिरञ्जीवी भव’ किन राखिएको हो भन्ने संकेतसमेत दिनेछ।

शुभमुहूर्त कार्यक्रममा हरिवंश आचार्यसँगै आशीर्वाद क्षेत्री, प्रशंसा रायमाझीलगायत कलाकार उपस्थित थिए।

जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण हुन लागेको यो चलचित्र आगामी जेठ १५ गतेबाट फ्लोरमा जानेछ। फिल्मको छायांकन तालिका ४५ दिनको तय गरिएको छ। चलचित्रको छायांकन धनकुटा, सुनसरी र काठमाडौंमा हुनेछ। निर्माण टिमले फिल्मलाई आगामी माघ १ गते प्रदर्शन गर्ने तयारी गरेको छ।

गत वर्षको ब्लकबस्टर नेपाली चलचित्र ‘परान’ निर्देशन गरेर चर्चामा आएका दीपकप्रसाद आचार्य ‘काकु’ले ‘चिरञ्जीवी भव’ निर्देशन गर्न लागेका हुन्। ‘परान’ गत वर्ष सर्वाधिक ग्रस कलेक्सन गर्ने नेपाली फिल्ममध्ये एक बनेको थियो।

यो चलचित्रमा दीपकप्रसाद आचार्यसँगै कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि जोडिएका छन्। कुमार कट्टेलकै कथामा फिल्म निर्माण हुन लागेको हो।

फिल्ममा हरिवंश आचार्यसँगै प्रियंका कार्की, सुवर्ण थापा, आशीर्वाद क्षेत्री, कमलमणि नेपाल, सरोज अर्याल, मोडल तथा इन्फ्लुएन्सर प्रशंसा रायमाझी, हरिस निरौला ‘कक्रोज’, सुमन कार्की र सुस्मिता कुँवरलगायत कलाकारको अभिनय रहनेछ।

कुमार कट्टेलले तयार पारेको कथामा सविन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको छ। सामाजिक कथावस्तुमा आधारित चलचित्रले दुई पुस्ताबीचको सोच, सम्बन्ध र वैचारिक द्वन्द्वलाई मुख्य विषय बनाउने निर्माण टिमले जनाएको छ।

चलचित्रका निर्माता उमेशकुमार बराल हुन् भने कार्यकारी निर्मातामा गजित विष्ट र शैलेश खत्री रहेका छन्।


यो पनि पढ्नुहोस्: सुशील सिटौला र न्यान्सी खड्काको अभिनय रहने ‘अक्षरा’को औपचारिक छायांकन सुरु


SUBSCRIBE 👉