
ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’पछि निर्देशक सरोज पौडेलले नयाँ चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरु गरेका छन्। शुक्रबार शुभमुहूर्त गर्दै पर्वतको कुस्मा नगरपालिका आर्थर डाँडाखर्कबाट फिल्मको छायांकन थालिएको हो।
सारंगी फिल्म्सको प्रस्तुतिमा बन्न लागेको यो चलचित्रमा विजय बराल, अञ्जना बराइली र विनोद न्यौपानेलगायत कलाकारको मुख्य भूमिका रहनेछ । शुभमुहूर्त कार्यक्रममा समेत कलाकारहरूको उपस्थितिले फिल्मप्रति उत्साह थपिएको देखिएको थियो।
निर्देशक पौडेलका अनुसार फिल्मको ३५ दिने छायांकन सेड्युल तय गरिएको छ। खास कुरा के भने, ‘पूर्णबहादुरको सारङ्गी’बाट दर्शकको मन जितेको विजय बराल–अञ्जना बराइली र सरोज पौडेलको सफल टिम फेरि एकपटक यही फिल्ममार्फत एकसाथ आएको हो।
नेपाली चलचित्र इतिहासकै सर्वाधिक कमाउने फिल्म निर्देशन गरेर ‘ब्लकबस्टर निर्देशक’को पहिचान बनाएका सरोज पौडेल यसपटक पनि कुनै सम्झौता नगरी उत्कृष्ट फिल्म बनाउने तयारीमा छन्। चलचित्रको कथा तथा लेखन पनि स्वयं पौडेलकै रहेको छ।
आरआर फिल्मसले वितरण गर्ने ‘सिन्दुरे जात्रा’को डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ।
यो पनि पढ्नुहोस् : पढाइ, दबाब र बालमनोविज्ञानको कथा बोकेको ‘रोल नं १’को ट्रेलर रिलिज
