
नेपाली ग्रामीण परिवेशमा आधारित अर्को चलचित्र ‘गौँथली’को पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार एकसाथ दुईवटा पोस्टर सार्वजनिक गर्दै फिल्मको कथा र परिवेशबारे संकेत दिएको हो।
सार्वजनिक पोस्टरमा मुख्य कलाकार अरुण क्षेत्री र सिम्रन खड्का फिचर्ड छन्। पोस्टरले पहाडी गाउँमा संघर्षरत एक गरिब परिवारको कथा प्रस्तुत गर्ने संकेत गर्छ। ग्रामीण जीवन, परिवारिक सम्बन्ध र भावनात्मक संघर्षलाई केन्द्रमा राखेर फिल्म निर्माण गरिएको बुझिन्छ।
डा. कपिल रिजाल निर्देशित चलचित्र ‘गौँथली’ आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। फिल्ममा अरुण क्षेत्री र सिम्रन खड्कासँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपाली देखिएका छन्।
डा. भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद लेखन निर्देशक डा. कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले गरेका हुन्। निर्माण टिमका अनुसार ‘गौँथली’ले घर, परिवार र आपसी आत्मीयताको प्रतीकात्मक अर्थ बोकेको छ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रकी कार्यकारी निर्माता सरला रिजाल हुन्। सुमन गिरी र डा. कपिल रिजाल निर्माता रहेको फिल्ममा इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताका रूपमा रहेका छन्।
विशेष कुरा के छ भने, ‘गौँथली’ शीर्षकमा डा. भोला रिजालले करिब दुई दशकअघि पनि चलचित्र निर्माण गरेका थिए, जसलाई नेपालको पहिलो ‘गीति फिल्म’ अर्थात् म्युजिकल फिल्म मानिन्छ। उक्त फिल्मले प्रदर्शनको ५१ दिनसम्म सफल प्रदर्शन गरेको थियो। अहिले सोही नामलाई नयाँ पुस्तासँग जोड्दै उनका छोरा डा. कपिल रिजालले नयाँ स्वरूपमा ‘गौँथली’ दर्शकमाझ ल्याउन लागेका हुन्।
यो पनि पढ्नुहोस्: ‘पूर्णबहादुरको सारङ्गी’पछि सरोज पौडेलको नयाँ फिल्म ‘सिन्दुरे जात्रा’को छायांकन सुरु
