
अभिनेता Jitu Nepal को निर्माणमा बनेको बहुप्रतीक्षित चलचित्र ‘I AM JIT BAHADUR’ को ट्रेलर सार्वजनिक गरिएको छ। आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको ट्रेलर OSR Digital को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। राजधानी काठमाडौंमा आयोजित विशेष कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको थियो।
सार्वजनिक ट्रेलरले गाउँबाट सपना बोकेर काठमाडौं आएका एक युवाको संघर्ष, कलाकार बन्ने सपना र त्यस यात्रामा आइपर्ने चुनौतीहरूको भावनात्मक कथा प्रस्तुत गरेको छ। कलाकार बन्ने सपना पछ्याउँदै अघि बढ्ने पात्रको जीवन, संघर्ष र आत्मविश्वासलाई ट्रेलरले सशक्त रूपमा चित्रण गरेको छ।
विशेषगरी हास्य कलाकारका रूपमा परिचित जितु नेपाल यस चलचित्रमा फरक अवतारमा देखिएका छन्। ट्रेलरमा उनको गम्भीर अभिनय, संघर्षशील चरित्र र भावनात्मक प्रस्तुति दर्शकका लागि आकर्षणको केन्द्र बनेको छ।
‘आइ एम जीत बहादुर’ – ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्
भारतीय बंगाली निर्देशक Subhendu Ghosh को कथा तथा निर्देशनमा बनेको चलचित्रमा जितु नेपालको अपोजिटमा Barsha Raut देखिएकी छन्। फिल्ममा Priyanka Karki, Sandeep Chhetri, देशभक्त खनाल, पवन खतिवडा ‘बाबा’, निरज नेपाल र अन्सु महर्जनलगायत कलाकारहरूको अभिनय रहेको छ।
कर्मभूमि क्रिएशन को ब्यानरमा निर्माण भएको यस चलचित्रका कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल हुन्। राजन सिंखडा तथा दीपेन्द्र अधिकारी सह–निर्माताका रूपमा रहेका छन्। भारतीय सिनेमाटोग्राफर अरविन्दले फिल्मको छायांकन गरेका हुन् भने पोस्ट–प्रोडक्सन कार्य भारतमै सम्पन्न गरिएको निर्माण टिमले जनाएको छ।
तीन दशकभन्दा लामो कलाकारिता यात्रामा हास्य कलाकारदेखि चरित्र अभिनेतासम्मको सफल यात्रा तय गरेका जितु नेपालका लागि ‘आइ एम जीत बहादुर’ विशेष महत्वको परियोजना मानिएको छ।
यो पनि पढ्नुहोस् : ‘मोहर’पछि ओम प्रतीकको नयाँ फिल्म ‘हली’, पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय
