अनिल बुढा मगरको निर्देशनमा बन्ने ‘रातो घेरा’मा दयाहाङ–मिरुना फेरि सँगै

दयाहाङ राई र मिरुना मगर नयाँ नेपाली फिल्म ‘रातो घेरा (द रेड सर्कल)’ मा फेरि एकसाथ देखिने भएका छन्। फिल्मलाई अनिल बुढा मगरले निर्देशन गर्नेछन्।


DayaHang Rai and Miruna Magar

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर फेरि एकपटक ठूलो पर्दामा जोडीका रूपमा देखिने भएका छन्। लाखौ लाख दर्शकहरुको मन जितेको यो लोकप्रिय अनस्क्रिन जोडी अब नयाँ नेपाली फिल्म ‘रातो घेरा (द रेड सर्कल)’ मा सँगै देखिन लागेको हो।

विश्राम फिल्मस् प्रा.लि. को ब्यानरमा बन्ने फिल्मलाई निर्देशक अनिल बुढा मगरले निर्देशन गर्दैछन। निर्माण पक्षका अनुसार फिल्मको कथा सामाजिक र भावनात्मक विषयवस्तुमा केन्द्रित हुनेछ। मनोरञ्जनसँगै दर्शकलाई सोच्न बाध्य पार्ने सन्देश दिने उद्देश्यले फिल्मलाई कथात्मक रूपमा बलियो बनाउने तयारी गरिएको बताइएको छ।

दयाहाङ र मिरुनाको जोडी पछिल्ला वर्ष नेपाली फिल्म क्षेत्रमा निकै रुचाइएको जोडीमध्ये एक हो। उनीहरूको केमेस्ट्री, सहज अभिनय र प्राकृतिक प्रस्तुति दर्शकले विशेष रूपमा रुचाएका छन्। उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी’ मा उनीहरूको सहकार्यले बक्स अफिसमा राम्रो सफलता पाएको थियो। ‘जारी’मा दयाहाङ, मिरुना र विजय बराल मुख्य भूमिकामा थिए। फिल्म लिम्बू समुदायको जारी परम्परासँग जोडिएको सामाजिक कथामा आधारित थियो।

‘जारी’को सफलतापछि दयाहाङ–मिरुनाको जोडीलाई नेपाली दर्शकले पुनः हेर्न चाहिरहेका थिए। यही कारण ‘रातो घेरा’को घोषणासँगै फिल्मप्रति चर्चा बढ्न थालेको छ। सामाजिक सञ्जालमा पनि यो जोडीको पुनरागमनलाई लिएर सकारात्मक प्रतिक्रिया देखिन थालेको छ।

फिल्मका निर्देशक अनिल बुढा मगर पनि दयाहाङ र मिरुनासँग काम गरिसकेका निर्देशक हुन्। उनले निर्देशन गरेको ‘घरज्वाइँ’ मा पनि दयाहाङ र मिरुना प्रमुख भूमिकामा थिए। त्यसैले ‘रातो घेरा’मा निर्देशक, कलाकार र कथाको संयोजनले नयाँपन अपेक्षा सिर्जना गरेको छ।

निर्माण पक्षका अनुसार फिल्मलाई प्राविधिक रूपमा पनि सशक्त बनाउने तयारी छ। अनुभवी कलाकार तथा प्राविधिक टिमको सहभागिताले फिल्मलाई थप प्रभावशाली बनाउने विश्वास गरिएको छ। फिल्ममा रहने अन्य कलाकार र प्राविधिक सदस्यहरूको विवरण क्रमशः सार्वजनिक गरिने बताइएको छ।

फिल्मलाई जीवन गुरुङ, कविता गुरुङ, भोजेन्द्र गुरुङ (भोज) र सरुन शेरचनले संयुक्त रूपमा निर्माण गर्न लागेका हुन्। वितरणको जिम्मेवारी काफीया फिल्म्स प्रा.लि.का गोविन्द शाहीले लिएका छन्।

पछिल्लो समय अभिनेत्री मिरुना मगरले पनि आफ्नो अभिनय यात्रामा थप बलियो उपस्थिति देखाइरहेकी छन्। ‘ऊनको स्वीटर’बाट उनले राष्ट्रिय चलचित्र पुरस्कारअन्तर्गत उत्कृष्ट अभिनेत्रीको अवार्ड (सम्मान) पाएकी छिन्।

‘रातो घेरा’को विस्तृत कथा, छायांकन तालिका र रिलिज मिति सार्वजनिक भइसकेका छैनन्। तर दयाहाङ र मिरुनाको सफल जोडी, अनिल बुढा मगरको निर्देशन र सामाजिक–भावनात्मक कथाको संकेतले यो फिल्मलाई अहिलेबाटै प्रतीक्षित नेपाली फिल्मको सूचीमा राखिदिएको छ।


यो पनि पढ्नुहोस: सरोज पौडेल निर्देशित ‘सिन्दुरे जात्रा’ मंसिर ४ मा दर्शकमाझ आउँदै


SUBSCRIBE 👉