सैनिक पोसाकमा दयाहाङ, गुरुङ पहिरनमा गौमाया। कस्तो होला ‘पेन्सन पट्टा’को कथा ?

दयाहाङ राई र गौमाया गुरुङको नयाँ फिल्म ‘पेन्सन पट्टा’को फर्स्ट लुक सार्वजनिक भएको छ। पोस्टरमा ग्रामीण जीवन, प्रेम, संघर्ष र पूर्वलाहुरे जीवनको भावनात्मक संकेत देखिन्छ।


माओत्से गुरुङ निर्देशित नेपाली चलचित्र ‘पेन्सन पट्टा’ को फर्स्ट लुक सार्वजनिक गरिएको छ। असार १५ को अवसर पारेर निर्माण टिमले चलचित्रका तीन फरक पोस्टर सार्वजनिक गर्दै प्रचारप्रसार औपचारिक रूपमा सुरु गरेको हो।

सार्वजनिक पोस्टरहरूले चलचित्रको भावनात्मक धरातल, पात्रहरूको जीवनयात्रा, ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र मानवीय संघर्षलाई कलात्मक शैलीमा प्रस्तुत गरेका छन्। पोस्टर हेर्दा ‘पेन्सन पट्टा’ केवल पूर्वलाहुरेको कथा नभई प्रेम, प्रतीक्षा, जिम्मेवारी, परिवार र जीवनको लक्ष्य पछ्याउने यात्रासँग जोडिएको सामाजिक–मानवीय फिल्म हुने संकेत देखिन्छ।

पहिलो पोस्टरमा दयाहाङ राई र गौमाया गुरुङ ग्रामीण परिवेशमा देखिएका छन्। गौमायाको काखमा रहेको पाठो र दयाहाङको भावपूर्ण अनुहारले सरल गाउँले जीवन, आत्मीयता र मानवीय संवेदनाको झल्को दिन्छ। पोस्टरले फिल्मको टोन शान्त, भावनात्मक र माटोसँग जोडिएको हुने संकेत गर्छ।

दोस्रो पोस्टरमा दयाहाङ र गौमाया हात समातेर झरनाको बाटो हुँदै यात्रा गरिरहेका छन्। डोको बोकेकी गौमाया र भारीसहित अघि बढिरहेका दयाहाङको दृश्यले प्रेमसँगै संघर्ष, सहयात्रा र जीवनको जिम्मेवारी बोकेको कथा भन्न खोजेको देखिन्छ। प्राकृतिक सौन्दर्यको पृष्ठभूमिमा तयार गरिएको यो दृश्य फिल्मको भावनात्मक पक्षलाई अझ बलियो बनाउने खालको छ।

तेस्रो पोस्टरमा दयाहाङ सैनिक पोसाकमा प्रस्तुत छन् भने गौमाया परम्परागत गुरुङ पहिरनमा देखिएकी छन्। पृष्ठभूमिमा रहेका युवा पात्रहरूको उपस्थितिले प्रेम, परिवार, प्रतीक्षा र पुस्तान्तरणको कथा फिल्ममा जोडिएको हुनसक्ने संकेत गर्छ।

माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई निर्देशक गुरुङले आशा, संघर्ष र मानवीय संवेदनाको कथा भनेका छन्। उनका अनुसार फिल्मले जीवनमा लक्ष्य प्राप्त गर्न गरिने प्रयास र त्यसक्रममा सम्बन्धहरूले खेल्ने भूमिकालाई केन्द्रमा राखेको छ।

चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, पुष्कर गुरुङ, पाशुपति राई, स्वर्गीय सुनिल थापा, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई र लुनिभा तुलाधर लगायत कलाकारको अभिनय छ। कथा तथा निर्देशन माओत्से गुरुङकै हो।

फिल्मको छायांकन सुशन प्रजापतिले गरेका छन् भने सम्पादन केर डी. कोइच लिनुच, कलर राजेन्द्र मोक्तान, साउन्ड डिजाइन उत्तम न्यौपाने, सिंक साउन्ड नवीन श्रेष्ठ, भिएफएक्स मनोज श्रेष्ठ र कला निर्देशन राजु याक्चाको रहेको छ। मिन कोन्मे गुरुङ, भोजबहादुर गुरुङ, माया गुरुङ र सपना गुरुङ निर्माता रहेका छन्।

निर्माण पक्षका अनुसार ‘पेन्सन पट्टा’ को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार हङकङ, अष्ट्रेलिया, न्युजिल्यान्ड र बेलायतका लागि बिक्री भइसकेको छ। नेपाली डायस्पोरा उल्लेख्य रहेका अन्य देशमा पनि फिल्म प्रदर्शनबारे छलफल भइरहेको जनाइएको छ।

हरितालिका तीजको अवसर पारेर भदौ २६ गते देशभर प्रदर्शनमा आउने ‘पेन्सन पट्टा’ ले ग्रामीण जीवन, प्रेम, त्याग, पारिवारिक सम्बन्ध र पूर्वलाहुरे जीवनको संवेदनालाई पर्दामा उतार्ने अपेक्षा गरिएको छ।


यो पनि पढ्नुहोस्: ‘खुस्मा’ पछि अशोक थापा मगरको नयाँ फिल्म ‘जलाकी’, पोस्टरमा देखियो गहिरो भाव


SUBSCRIBE 👉