दयाहाङ र मिरुनाको ‘रातो घेरा’को शुभ मुहूर्त सम्पन्न, बंगलामुखी मन्दिरबाट सुरु भयो यात्रा

नयाँ नेपाली चलचित्र ‘रातो घेरा – द रेड सर्कल’ को शुभ मुहूर्त गरिएको छ। अनिल बुढा मगरको निर्देशन रहने चलचित्रमा दयाहाङ राई, मिरुना मगरसहित करिब दुई दर्जन कलाकारको अभिनय रहनेछ। चलचित्र असार २५ देखि छायांकनमा जाँदैछ भने मंसिर १८ मा प्रदर्शन गर्ने तयारी छ।


अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको नयाँ नेपाली चलचित्र ‘रातो घेरा (द रेड सर्कल)’ को शुभ मुहूर्त गरिएको छ। बिहीबार पाटनस्थित बंगलामुखी मन्दिरमा कलाकार तथा पत्रकारको उपस्थितिमा चलचित्रको मुहूर्त सम्पन्न गरिएको हो।

दयाहाङ राई र मिरुना मगरको मुख्य अभिनय रहने यो चलचित्र असार २५ गतेदेखि छायांकनमा जानेछ। निर्माण टिमका अनुसार चलचित्रको अधिकांश छायांकन काठमाडौँ उपत्यकाभित्र गरिने तयारी छ।

‘रातो घेरा (द रेड सर्कल)’ विश्राम फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको हो। चलचित्रका निर्माता जीवन गुरुङ हुन्। निर्माणमा कविता गुरुङ, भोजेन्द्र गुरुङ ‘भोज’ र सरुन शेरचन पनि निर्माता रूपमा जोडिएका छन् भने सुमन गुरुङ र खेम राना सह–निर्माताका रूपमा रहेका छन्।

निर्देशक बुढा मगरका अनुसार चलचित्रले सामाजिक तथा भावनात्मक पक्षमा आधारित कथा प्रस्तुत गर्नेछ। शीर्षकले नै गम्भीर र रहस्यमय भाव बोकेको यो चलचित्रले मानवीय सम्बन्ध, समाज र भावनाको तहलाई पर्दामा उतार्ने संकेत गरेको छ।

चलचित्रको कथा राजु स्याङ्तानले लेखेका हुन्। छायांकन शिशिर बिसंखेले गर्नेछन् भने संगीत मनोज थापा मगर र सागर आले मगरले तयार गर्नेछन्। निर्माण नियन्त्रण सन्देश राईले सम्हाल्नेछन्। कस्ट्युम डिजाइन जानकी कठायतको रहनेछ भने प्रकाश व्यवस्थापन गुर्केश गुरुङले गर्नेछन्।

चलचित्रमा दयाहाङ राई र मिरुना मगरसँगै करिब दुई दर्जन कलाकारहरूको अभिनय रहनेछ। कलाकार सूचीमा रजनी गुरुङ, अरुण पुन, सुनिल पोखरेल, भोला सापकोटा, सुरज तमु, खड्ग बहादुर पुन खबपु, सुस्मिता कुँवर, भावना खपाङ्गी मगर, कविता आले, विजय पौडेल, बल बहादुर गुरुङ, इंगी होपो कोइच सुनुवार, उमेश सुनाम, शेखर चापागाईं, रामबाबु रेग्मी, सुवास गजुरेल, सुवास सिंह ठकुरी, रमिक सिंह ठकुरी, सुनिल तामाङ र डिबी गुरुङ लगायत छन्।

काठमाडौँ क्षेत्रमा चलचित्रको वितरण अधिकार काफीया फिल्म्सका गोविन्द शाहीले लिएका छन्। काठमाडौँ बाहिरको वितरण कुवेर सिने डिष्ट्रिब्युसनले गर्नेछ।

अनिल बुढा मगर यसअघि ‘घरज्वाइँ’ मार्फत सामाजिक विषयवस्तु र सांस्कृतिक संवेदनालाई पर्दामा उतार्ने निर्देशकका रूपमा चर्चामा आएका थिए। ‘घरज्वाइँ’मा पनि दयाहाङ राई र मिरुना मगरकै प्रमुख भूमिका थियो। त्यसैले ‘रातो घेरा – द रेड सर्कल’लाई यो जोडी र निर्देशक बुढा मगरको नयाँ सहकार्यका रूपमा पनि चासोका साथ हेरिएको छ।

निर्माण टिमले चलचित्रलाई आगामी मंसिर १८ गतेबाट प्रदर्शनमा ल्याउने तयारी गरेको छ। सामाजिक र भावनात्मक कथालाई केन्द्रमा राखिएको यो चलचित्रले छायांकन सुरु हुनुअघि नै नेपाली फिल्म वृत्तमा प्रारम्भिक चर्चा बटुल्न थालेको छ।


यो पनि पढ्नुहोस्: पूजा शर्मा र विपिन कार्कीको जोडी पहिलोपटक पर्दामा, कस्तो होला केमेस्ट्री?


SUBSCRIBE 👉