अमेरिकामा गायक युवराज चौलागाईंलाई जर्सी सिटी काउन्सिलद्वारा सम्मान

नेपाली संगीतका लोकप्रिय गायक युवराज चौलागाईंलाई अमेरिकाको जर्सी सिटी काउन्सिलले औपचारिक सम्मान प्रदान गरेको छ। दुई दशकभन्दा लामो सांगीतिक यात्रा, ४०० भन्दा बढी गीत र नेपाली संगीत तथा संस्कृतिलाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याएको योगदानको कदर गर्दै उनलाई जर्सी सिटी हलमा सम्मान गरिएको हो।


नेपाली पार्श्व गायक, संगीतकार तथा कलाकार युवराज चौलागाईंलाई अमेरिकाको न्युजर्सीस्थित जर्सी सिटी काउन्सिलले औपचारिक सम्मान प्रदान गरेको छ।

नेपाली संगीत, संस्कृति र प्रवासी नेपाली समुदायमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै उनलाई सन् २०२६ जुलाईमा जारी सम्मानपत्र प्रदान गरिएको हो। सम्मानपत्रमा चौलागाईंलाई नेपाली संगीतको समकालीन यात्राका प्रभावशाली तथा प्रेरणादायी व्यक्तित्वका रूपमा चित्रण गरिएको छ।

मंगलबार जर्सी सिटी हलमा आयोजित समारोहमा जर्सी सिटीका मेयरद्वारा नियुक्त विविधता तथा समावेशीकरण सल्लाहकार एवं न्युजर्सीका गभर्नरको ‘एशियन अमेरिकन प्यासिफिक आइल्यान्डर कमिसन’की कमिस्नर डा. विष्णुमाया परियारले चौलागाईंलाई सम्मानपत्र हस्तान्तरण गरिन्।

काउन्सिलम्यान-एट-लार्ज रोलान्डो लभारोले हस्ताक्षर गरेको सम्मानपत्रमा चौलागाईंले दुई दशकभन्दा लामो समयदेखि नेपाली संगीत क्षेत्रमा पुर्‍याएको योगदानलाई विशेष रूपमा उल्लेख गरिएको छ।

चलचित्र तथा समकालीन संगीतका विभिन्न विधामा ४०० भन्दा बढी गीत रेकर्ड गराइसकेका चौलागाईंको उपलब्धिले उनलाई नेपाली संगीत जगतका स्थापित र सम्मानित कलाकारका रूपमा चिनाएको सम्मानपत्रमा उल्लेख छ।

सम्मानपत्रले उनको कलात्मक यात्रालाई गायन र संगीत सिर्जनामा मात्र सीमित गरेको छैन। नेपाली सांगीतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन, नयाँ पुस्ताका कलाकारलाई मार्गदर्शन गर्न र नेपाली संगीत सम्पदाको संरक्षणमा योगदान दिन उनी सक्रिय सांस्कृतिक व्यक्तित्वका रूपमा प्रस्तुत भएका छन्।

नेपाल र विश्वभर छरिएर रहेका नेपाली समुदायबीच सांस्कृतिक सम्बन्ध मजबुत बनाउन चौलागाईंले महत्त्वपूर्ण भूमिका खेलेको पनि सम्मानपत्रमा उल्लेख गरिएको छ।

यो सम्मान न्युयोर्कबाट प्रकाशित स्थानीय सञ्चारमाध्यम ‘नेपयोर्क’को चौथो वार्षिकोत्सवको अवसर पारेर प्रदान गरिएको हो।

सम्मानपत्रमा भनिएको छ, “चौलागाईंको असाधारण कलात्मकता, सांस्कृतिक गर्व र गतिशील मञ्च उपस्थितिले उहाँलाई नेपाली समुदायभित्र मात्र नभई प्रवासी नेपाली युवापुस्तामाझ पनि प्रेरणाको स्रोत बनाएको छ। उहाँले आफ्नो संगीतमार्फत नेपाली भावना, संस्कृति र अनुभूतिलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै आउनुभएको छ।”

दुई दशकभन्दा लामो सांगीतिक यात्रा

युवराज चौलागाईं नेपाली सुगम संगीत र चलचित्र पार्श्व गायनका स्थापित, बहुमुखी तथा लोकप्रिय कलाकार हुन्। उनको मिठासपूर्ण स्वर र जीवन्त गायन शैलीले उनलाई लाखौँ नेपाली संगीतप्रेमीमाझ प्रिय बनाएको छ।

उनले ‘यू फिल’ एल्बमको ‘साँझपख’, दोस्रो एल्बम ‘यस’को ‘लैजा चरी’, ‘शब्द’ एल्बमको ‘हरेक शब्दको अर्थ हुन्छ’ र क्लासिक रिमेक गीत ‘टुङ्नाको धुनमा’मार्फत नेपाली संगीतमा सशक्त उपस्थिति जनाएका थिए।

त्यसपछि उनले नेपाली चलचित्र र आधुनिक संगीतमा थुप्रै चर्चित गीत दिएका छन्। चलचित्र ‘नोभेम्बर रेन’को ‘पलभरमै खुसी’, ‘क्लासिक’को ‘हारे हारे’, ‘पलास’को ‘तिमी साथमा हुँदानी’ र ‘कान्छी’को ‘यो मन रमाउँदै’ उनका लोकप्रिय चलचित्र गीतमध्ये पर्छन्।

त्यस्तै, चलचित्र ‘हवल्दार सुन्तली’को ‘तिम्रा डोला डोला हातमा’, ‘छ एकान छ’को शीर्ष गीत तथा ‘तिम्रो माया पाउनलाई’, ‘झमझम लाग्यो’, ‘छुटेपछि त छुट्यो’, ‘पलपल चोट’, ‘मैलेभन्दा माया गर्ने’, ‘सिरफुले माया’लगायत गीतले उनलाई नेपाली संगीत उद्योगको अग्रपंक्तिमा स्थापित गरेका छन्।

स्टेजदेखि संगीत सिर्जनासम्म सक्रिय

चौलागाईं रेकर्डिङ स्टुडियोमा मात्र सीमित छैनन्। उनी नेपालसहित विभिन्न देशमा आयोजना हुने सांगीतिक कार्यक्रममा आफ्नो ऊर्जावान् स्टेज प्रस्तुतिका लागि पनि उत्तिकै चर्चित छन्।

गायनसँगै संगीत सिर्जना र नयाँ प्रतिभालाई मार्गदर्शन गर्न सक्रिय चौलागाईंले आफ्नो करियरमा विभिन्न राष्ट्रिय संगीत तथा चलचित्र अवार्डसमेत प्राप्त गरेका छन्।

उनले एनएफडीसी राष्ट्रिय चलचित्र अवार्ड, नेफ्टा अवार्ड, फान अवार्ड, इनास अवार्ड, कालिका अवार्ड, विन्ध्यवासिनी म्युजिक अवार्ड, म्युजिक खबर म्युजिक अवार्ड र सगरमाथा म्युजिक अवार्डलगायत दर्जनौँ सम्मान तथा पुरस्कार प्राप्त गरिसकेका छन्।

जर्सी सिटी काउन्सिलबाट प्राप्त पछिल्लो सम्मानले नेपाली संगीतलाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउन चौलागाईंले निर्वाह गरेको भूमिकालाई थप औपचारिक मान्यता दिएको छ।