
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित बायोपिक चलचित्र ‘म मदनकृष्ण’ को डिजिटल अधिकार कीर्तिमानी मूल्यमा बिक्री भएको छ। प्रतिष्ठित डिजिटल कम्पनी ओएसआर डिजिटलले चलचित्रको ब्रान्ड भ्यालु र दर्शकीय सम्भावनालाई ध्यानमा राख्दै यसको डिजिटल अधिकार खरिद गरेको निर्माण पक्षले जनाएको छ।
भदौको दोस्रो सातादेखि छायांकन सुरु गर्ने तयारीमा रहेको चलचित्रलाई बायोपिक निर्देशनमा विशेष पहिचान बनाएका निर्देशक मिलन चाम्सले निर्देशन गर्दैछन्। ७६ वर्षीय कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्रको निर्माण घोषणा असारको पहिलो साता गरिएको थियो। घोषणा गर्दा चलचित्रको नाम ‘मदनकृष्ण’ मात्र गरिएको थियो, अहिले चलचित्रको नाममा थोरै परिबर्तन गरेर ‘म मदनकृष्ण’ राखिएको छ।
चलचित्रमा मदनकृष्ण श्रेष्ठको बाल्यकाल, सरकारी सेवाको अनुभव, हरिवंश आचार्यसँगको सहकार्य, अन्तरजातीय विवाह तथा व्यक्तिगत र व्यावसायिक जीवनका सुख–दुःखलाई प्रस्तुत गरिनेछ। उनको जीवनका संघर्ष, सफलता र आरोह–अवरोहलाई समेटेर चलचित्र निर्माण गर्न लागिएको हो।
निर्देशक चाम्सका अनुसार ओएसआर डिजिटलले अहिलेसम्मकै महँगो मूल्यमा चलचित्रको डिजिटल अधिकार खरिद गरेको हो।
उनले भनेका छन्, ‘ध्रुव सत्य कुरा के हो भने, ओएसआरले अहिलेसम्मकै महँगो मूल्यमा हाम्रो सिनेमाको डिजिटल राइट खरिद गर्नुभएको छ। यो मदनकृष्ण दाइप्रतिको सम्मान र उहाँको ब्रान्ड भ्यालुको नतिजा हो।’ तर कति महँगो? ठ्याक्कै रकम चाही खुलाएनन्।
नेपाली चलचित्रमा चर्चित व्यक्तित्वको जीवनमाथि बायोपिक निर्माण हुनु नयाँ अभ्यास होइन। यसअघि गायक भक्तराज आचार्यको जीवनमा आधारित चलचित्र ‘आचार्य’ निर्माण भएको थियो। तर नेपाली रङ्गमञ्च तथा चलचित्र क्षेत्रमा सक्रिय अभिनेताको जीवनमाथि बायोपिक बन्न लागेको यो पहिलोपटक भएको निर्माण पक्षको दाबी छ।
चलचित्रमा मदनकृष्ण श्रेष्ठको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन्। अभिनेत्री केकी अधिकारी मदनकृष्णकी पत्नी यशोदा श्रेष्ठको भूमिकामा देखिनेछिन्।
मदनकृष्ण श्रेष्ठको जीवनकथासँग हरिवंश आचार्यको प्रसंग पनि जोडिएर आउँछ। लामो समयदेखि ‘मह जोडी’का रूपमा परिचित मदनकृष्ण र हरिवंशको सहकार्य नेपाली मनोरञ्जन क्षेत्रमा विशेष मानिन्छ। तर चलचित्रमा हरिवंश आचार्यको भूमिका कसले निर्वाह गर्नेछ भन्ने विषय निर्माण टिमले हालसम्म गोप्य राखेको छ।
चलचित्रमा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ र देशभक्त खनालको पनि अभिनय रहनेछ।
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुतिमा निर्माण हुने चलचित्रलाई राजकुमार श्रेष्ठले निर्माण गर्दैछन्। चलचित्रको कथा तथा पटकथा यम थापाले लेखेका हुन्।
प्राविधिक टोलीमा पदमबहादुर श्रेष्ठ ‘बाबु श्रेष्ठ’ छायांकन निर्देशक, मिलन श्रेष्ठ सम्पादक, अलिश कार्की पृष्ठसंगीतकार र भरत कँडेल ध्वनि डिजाइनरका रूपमा आबद्ध छन्।

