
युवापुस्ताको मनोविज्ञान र समसामयिक जीवनकथालाई पर्दामा उतार्ने तयारीमा रहेका निर्देशक बलिराम चौहानको नयाँ चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’मा अभिनेता सन्तोष बानियाँ मुख्य भूमिकामा अनुबन्ध भएका छन्।
सोमबार निर्माण पक्ष र बानियाँबीच औपचारिक सम्झौता भएको हो। यसअघि अभिनेता रियान गिरीलाई पनि चलचित्रको प्रमुख भूमिकामा अनुबन्ध गरिएको जानकारी निर्माण पक्षले सार्वजनिक गरिसकेको थियो।
सन्तोष र रियान दुवैले चलचित्र ‘होस्टेल ३’बाट एकसाथ नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका थिए। पहिलो चलचित्रपछि फरक–फरक प्रोजेक्टमा व्यस्त बनेका यी दुई कलाकार अब ‘ल्याङ्ग ल्याङ्ग’मार्फत पुनः एउटै पर्दामा देखिने भएका छन्।
रङ्गमञ्च, म्युजिक भिडियो र टेलिसिरियलमा लामो अनुभव बटुलेपछि ठूलो पर्दामा प्रवेश गरेका सन्तोषका लागि ‘ल्याङ्ग ल्याङ्ग’ करिअरकै महत्त्वपूर्ण चलचित्र बन्न सक्ने देखिएको छ। ‘होस्टेल ३’पछि उनले ‘गोबर गणेश’ र ‘कस्तुरी’लगायत चलचित्रमा अभिनय गरिसकेका छन्।
यसअघिका चलचित्रमा प्रायः सहयोगी भूमिकामा देखिएका सन्तोषलाई निर्देशक चौहानले यसपटक प्रमुख चरित्रमा प्रस्तुत गर्दै छन्। उनको अभिनय क्षमता र चरित्रभित्र सहज रूपमा प्रवेश गर्न सक्ने खुबीका कारण मुख्य भूमिकाका लागि छनोट गरिएको निर्माण पक्षले जनाएको छ।
स्काइफल पिक्चर्सको प्रस्तुतिमा निर्माण हुने चलचित्रको स्लोगन ‘हरेक युवाको कथा’ राखिएको छ। नेपाली युवापुस्ताले साथीभाइबीच हुने अनावश्यक किचकिच, एउटै विषयमा बारम्बार दिइने दबाब वा मानसिक तनावलाई बुझाउन ‘ल्याङ्ग ल्याङ्ग’ शब्द प्रयोग गर्ने गर्छन्।
चलचित्रले यही शब्दसँग जोडिएको युवा मनोविज्ञान, सम्बन्ध, दबाब र दैनिक जीवनका उतारचढावलाई कथाको केन्द्रमा राख्ने संकेत गरेको छ।
निर्देशक चौहानले यसअघि सार्वजनिक गरेको थिम पोस्टरमा लेखिएको थियो, ‘पालना गर्ने वाचा र बाँच्ने उद्देश्य : यो जीवनको लागि यति मात्र हो।’
पोस्टरमा प्रयोग गरिएको वाक्य र दृश्यात्मक प्रस्तुतिले चलचित्रमा प्रेम, धोका र त्यसपछि उत्पन्न हुने मानसिक द्वन्द्वलाई महत्त्वपूर्ण विषयका रूपमा प्रस्तुत गरिने संकेत गर्छ।
गत वर्ष प्रदर्शनमा आएको ‘द ब्ल्यू लाइट’मार्फत निर्देशनमा डेब्यु गरेका बलिराम चौहानले उक्त चलचित्रबाट समीक्षकको सकारात्मक प्रतिक्रिया पाएका थिए। तर निर्वाचनको समय र राजनीतिक माहोलका कारण चलचित्रले व्यावसायिक रूपमा अपेक्षित सफलता हासिल गर्न सकेन।
पहिलो चलचित्रबाट प्राप्त अनुभवलाई आधार बनाउँदै चौहान अहिले ‘ल्याङ्ग ल्याङ्ग’मार्फत दर्शकसँग अझ बलियो सम्बन्ध स्थापित गर्ने तयारीमा छन्।
चलचित्रको कथा बलिराम चौहान र उपाश्री खतिवडाले संयुक्त रूपमा लेखेका हुन्। हाल चलचित्रको प्रि–प्रोडक्सन र कलाकार छनोटको काम तीव्र रूपमा भइरहेको छ।
निर्देशक चौहानले भने, “अहिले हामी कलाकार र प्राविधिक टिमलाई पूर्णता दिने क्रममा छौँ। केही स्थापित र केही प्रतिभावान नयाँ अनुहारहरूसँग कुरा भइरहेको छ। छिट्टै हामी सम्पूर्ण टिमको औपचारिक घोषणा गरेर छायांकनमा निस्कनेछौँ।”

