बुद्धिसागरको लेखनमा ‘द राइज अफ साम्राज्य’, सौरभ चौधरीले निर्देशन गर्ने

डार्क हर्स इन्टरटेन्मेन्टले नयाँ एपिक एक्सन ड्रामा ‘द राइज अफ साम्राज्य’ घोषणा गरेको छ। बुद्धिसागरको लेखन रहने चलचित्रलाई सौरभ चौधरीले निर्देशन गर्नेछन्।


डार्क हर्स इन्टरटेन्मेन्टको प्रस्तुति रहने नयाँ नेपाली चलचित्र ‘द राइज अफ साम्राज्य’ निर्माण हुने भएको छ। निर्माण पक्षले चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै शीर्षक घोषणा गरेको हो।

सेलिब्रेटी लेखक बुद्धिसागरको लेखन रहने चलचित्रलाई सौरभ चौधरीले निर्देशन गर्नेछन्। चलचित्रका निर्मातामा प्रवेश चौधरी र निला देव छन् भने विश्वास बस्नेत ‘बेन’ को–प्रोडुसरका रूपमा जोडिएका छन्। कार्यकारी निर्माताको जिम्मेवारी शंकर पाण्डेले सम्हाल्नेछन्।

सार्वजनिक थिम पोस्टरले चलचित्रको कथा, परिवेश र भव्य निर्माण शैलीबारे केही संकेत गरेको छ। पोस्टरमा आगोको लप्काबीच घोडामा सवार मानिसहरू र पुरानो राजसी कालखण्ड झल्काउने पात्रहरू देखिन्छन्।

पोस्टरको दृश्यले ठूलो द्वन्द्व र विद्रोहको संकेत गर्छ। आगो लागेको बस्ती वा विद्रोहीको आश्रयस्थलजस्तो देखिने दृश्यले कथामा संघर्षको महत्त्वपूर्ण भूमिका रहने अनुमान गर्न सकिन्छ। यद्यपि, निर्माण पक्षले कथाबारे विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

‘द राइज अफ साम्राज्य’ एक्सन ड्रामा जनरामा निर्माण हुनेछ। एक्सन दृश्य र भव्य मेकिङका लागि प्रशंसा पाउँदै आएका निर्देशक सौरभ चौधरीले यसपटक अझ ठूलो क्यानभासमा काम गर्न लागेको निर्माण पक्षले जनाएको छ।

कार्यकारी निर्माता शंकर पाण्डेले चलचित्र नेपाली सिनेमा उद्योगकै ठूलो स्केलको ‘एपिक एक्सन ड्रामा’ हुने दाबी गरेका छन्। “यो सिनेमा लाइनअप र मेकिङको हिसाबले नेपाली चलचित्र उद्योगकै अहिलेसम्मको बिग स्केलको सिनेमा हुनेछ,” उनले भने।

निर्माण टिमले निर्देशक, लेखक, निर्माता र डीओपीको नाम सार्वजनिक गरे पनि कलाकारको लाइनअप भने खुलाएको छैन। कलाकारबारे केही दिनभित्र जानकारी दिने तयारी रहेको बताइएको छ।

चलचित्रको छायांकन भदौको पहिलो साताबाट सुरु गर्ने योजना छ। अधिकांश दृश्य पूर्वी नेपालमा खिचिनेछन् भने छायांकनका लागि ७० दिनको समयतालिका तय गरिएको छ।

निर्देशक चौधरीले प्रदर्शन मिति घोषणा गर्न हतार नगर्ने बताएका छन्। उनका अनुसार छायांकन र पोस्ट–प्रोडक्सनको कामको अवस्था हेरेपछि मात्र रिलिज मिति तय गरिनेछ।

“अहिलेलाई हामीले थिम र टाइटल अनाउन्समेन्ट गरेका छौँ, पूर्ण रूपमा छायांकन सकिएसँगै पोस्टको कामलाई मध्यनजर गर्दै प्रदर्शन मिति तय गर्ने सोच हो। पहिला एउटा लाइनअप तयार होस्, त्यसपछि रिलिज डेटबारे सोचौँला नि,” उनले भने।

चलचित्रमा मानकृष्ण महर्जन डीओपीका रूपमा रहनेछन् भने श्री श्रेष्ठले एक्सन निर्देशन गर्नेछन्। ओएसआर डिजिटल डिजिटल पार्टनर, टौवा स्टुडियो पब्लिसिटी पार्टनर र डीसीएन वितरकका रूपमा जोडिएका छन्।

‘द राइज अफ साम्राज्य’ले नेपाली इतिहासको कुनै विशेष कालखण्डलाई पर्दामा उतार्ने हो वा काल्पनिक साम्राज्यको कथा प्रस्तुत गर्ने हो भन्ने निर्माण पक्षले अझै खुलाएको छैन। तर भव्य थिम पोस्टर, स्थापित लेखक–निर्देशकको सहकार्य र ठूलो निर्माण स्केलको दाबीले चलचित्रप्रति प्रारम्भिक उत्सुकता बढाएको छ।