तीन नेपाली बालबालिकाले भियतनाममा यसरी चम्काए नेपालको नाम

भियतनामको दलात सहरमा सम्पन्न ‘वर्ल्ड जुनियर टुरिजम एम्बेसडर २०२६’ मा तीन नेपाली बालबालिकाले विभिन्न उपाधि जित्दै नेपालको पर्यटन, कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेका छन्।

भियतनाममा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘वर्ल्ड जुनियर टुरिजम एम्बेसडर २०२६’ मा नेपालको प्रतिनिधित्व गरेका तीन नेपाली बालबालिकाले विभिन्न उपाधि जितेका छन्।

प्रतियोगितामा आरिका उप्रेतीले ‘राइजिङ स्टार २०२६’ को उपाधि हासिल गरेकी छन्। सेरोन थापा ‘क्राउन प्रिन्स वर्ल्ड जुनियर टुरिजम एम्बेसडर २०२६’ को सेकेन्ड रनरअप बनेका छन् भने आरभ उप्रेतीले ‘प्रिन्स वर्ल्ड जुनियर टुरिजम एम्बेसडर २०२६’ मा फर्स्ट रनरअपको उपाधि जितेका छन्।

आरभ र सेरोनले प्रतियोगितामा ‘चार्मिङ अवार्ड’ समेत प्राप्त गरेका छन्।

भियतनामको दलात सहरमा आइतबार साँझ सम्पन्न प्रतियोगितामा सहभागी हुन उनीहरू एक साताअघि शनिबार त्यसतर्फ प्रस्थान गरेका थिए। तीनै बालबालिका रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको ‘लिटल प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेसनल २०२६’ का विजेता हुन्।

अन्तर्राष्ट्रिय मञ्चमार्फत नेपालको पर्यटन, कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित उनीहरूले नेपाली पहिचान झल्किने प्रस्तुति दिएका थिए।

आरिकाले नेपालको राष्ट्रिय चरा डाँफेबाट प्रेरित पोसाक प्रस्तुत गरेकी थिइन्। सेरोनले मगर समुदायको मौलिक भेषभूषा र संस्कृति प्रदर्शन गरेका थिए भने आरभले ऐतिहासिक सहर भक्तपुरको प्रसिद्ध न्यातपोल मन्दिरबाट प्रेरित पोसाकमार्फत मन्दिरको परिचयसँगै नेपालको सांस्कृतिक सम्पदा प्रस्तुत गरेका थिए।

प्रतियोगितामा बालबालिकासँग अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजु पनि सहभागी थिए। सहभागीहरूको फेसन कन्सेप्ट डिजाइनर श्रीषा बैदारले तयार पारेकी हुन्।

नेपाली बालबालिकाले अन्तर्राष्ट्रिय मञ्चमा हासिल गरेको यो सफलताले उनीहरूको प्रतिभासँगै नेपालको पर्यटन, संस्कृति र सम्पदालाई विश्वमाझ चिनाउन योगदान पुर्‍याएको छ।