
सन् २०२६ मे १७ मा ल्हाक्पा शेर्पाले सगरमाथाको शिखरमा ११औँ पटक पुग्दै महिलातर्फ सर्वाधिक आरोहणको आफ्नै गिनिज विश्व कीर्तिमान थप बलियो बनाएकी छिन्। नेपालतर्फको मार्गबाट आरोहण गरेकी उनी स्थानीय समयअनुसार बिहान करिब ९ः३० बजे शिखरमा पुगेकी थिइन्।
यो उपलब्धि उनको कीर्तिमानी १०औँ आरोहणको चार वर्षपछि र पहिलो सफल सगरमाथा यात्राको २५ वर्षभन्दा लामो समयपछि आएको हो। तर ल्हाक्पाको जीवनलाई आरोहणको संख्याले मात्र परिभाषित गर्न सकिँदैन। तर उनले जितेका सबैभन्दा कठिन अवरोध संसारकै अग्लो हिमालमा मात्र थिएनन्।
हिमालको काखमा हुर्किएको संघर्षपूर्ण बाल्यकाल
पूर्वी नेपालको दुर्गम मकालु क्षेत्रमा याकपालक परिवारमा जन्मिएकी ल्हाक्पा हिमालसँग नजिक थिइन्, तर अवसरबाट टाढा। त्यस समय उनको समुदायमा छोरीहरूलाई शिक्षा दिने चलन दुर्लभ थियो। आफूले विद्यालय जान नपाउँदा पनि भाइलाई बोकेर घण्टौँ हिँड्दै विद्यालय पुर्याएको अनुभव उनले सार्वजनिक रूपमा सुनाएकी छन्।
सानैदेखि हिमालप्रति आकर्षित ल्हाक्पाका लागि पर्वतारोहण क्षेत्रमा प्रवेश गर्नु पनि सहज थिएन। अभियानसम्बन्धी काम पुरुषका लागि मात्र उपयुक्त मानिने सोचविरुद्ध उनले संघर्ष गर्नुपर्यो।
काम पाउन उनले कपाल छोटो बनाएर केटाको भेष धारण गरेको बताएकी छन्। भरियाको कामबाट सुरु भएको उनको यात्रा भान्साको जिम्मेवारी हुँदै आरोहण र पथप्रदर्शनसम्म पुग्यो।
औपचारिक शिक्षाभन्दा बाहिर उनले हिमालमै सिकिन्, मौसम बुझ्न, जोखिम चिन्न, शरीरलाई अनुकूल बनाउन र कठिन परिस्थितिमा निर्णय लिन।

सगरमाथाबाट सुरक्षित फर्कने पहिलो नेपाली महिला
सन् २००० मे १८ मा ल्हाक्पा सगरमाथाको शिखरमा पुगेर सुरक्षित फर्कने पहिलो नेपाली महिला बनिन्। त्यसअघि सन् १९९३ मा पासाङ ल्हामु शेर्पाले सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिलाका रूपमा इतिहास रचेकी थिइन्। तर फर्कने क्रममा उनको दुःखद निधन भएको थियो।
ल्हाक्पाले सन् २००० को दशकको सुरुवाती वर्षहरूमा निरन्तर आरोहण गरिन्। छ पटक सगरमाथा चढेपछि उनी करिब एक दशक ठूला अभियानबाट टाढा रहिन्। सन् २०१६ मा फर्किएकी उनले त्यसपछि २०१७, २०१८ र २०२२ मा सफल आरोहण गर्दै आफ्नो कीर्तिमान बढाइन्।
उनका नौ आरोहण तिब्बततर्फको उत्तरी मार्गबाट भएका थिए। सन् २०२६ को ११औँ आरोहणमा भने उनी पुनः नेपालतर्फको मार्गमा फर्किइन्।
हिमालभन्दा बाहिरको कठिन संघर्ष
हिमालमा इतिहास बनाइरहँदा ल्हाक्पाको व्यक्तिगत जीवन भने गम्भीर पीडा र संघर्षबाट गुज्रिरहेको थियो। संयुक्त राज्य अमेरिका पुगेपछि उनले बर्षौ सम्म घरेलु हिंसा सहिन्। अन्ततः त्यस अवस्थाबाट बाहिरिएर उनले कनेक्टिकटमा आफ्ना सन्तानसहित नयाँ जीवन निर्माण गरिन्।
परिवारको जिम्मेवारी सम्हाल्दै उनले होल फुड्समा भान्सा र भाँडा माझ्ने काम गरिन्। घर सफा गर्ने शारीरिक रूपमा कठिन काम पनि गरिन्।
विश्व पर्वतारोहणकै सबैभन्दा सफल महिलामध्ये एक भए पनि उनीसँग चर्चित खेलाडीहरूले पाउने स्थायी प्रायोजन, आर्थिक सुरक्षा र व्यावसायिक सहयोग थिएन।
सन् २०२२ को सगरमाथा अभियानका लागि समेत ठूलो प्रायोजक नपाएपछि उनले क्राउडफन्डिङको सहारा लिनुपरेको थियो।
यो आफैँमा असाधारण विरोधाभास थियो। विश्वमा सबैभन्दा धेरैपटक सगरमाथा चढ्ने महिला आफ्नो परिवार पाल्न र अर्को अभियानका लागि रकम जुटाउन दैनिक कठिन श्रम गरिरहेकी थिइन्।

सगरमाथाभन्दा परको सपना
ल्हाक्पाको लक्ष्य सगरमाथामा मात्र सीमित रहेन। सन् २०२३ मा उनी पाकिस्तानमा रहेको विश्वको दोस्रो अग्लो हिमाल केटूको अभियानमा सहभागी भइन्। अत्यन्त कठिन र जोखिमपूर्ण मानिने केटूमा पुग्ने उनको प्रयास १३ वर्षअघि खराब मौसमका कारण क्याम्प थ्रीमै रोकिएको थियो।
उनको यात्राले बारम्बार एउटै कुरा देखाएको छ, असफलताले उनलाई रोक्न सक्छ, तर परिभाषित गर्न सक्दैन।
‘माउन्टेन क्वीन’मार्फत विश्वभर पुगेको कथा
ल्हाक्पाको जीवन निर्देशक लुसी वाकरको वृत्तचित्र माउन्टेन क्वीन: द समिट्स अफ ल्हाक्पा शेर्पा मार्फत विश्वभरका दर्शकमाझ पुग्यो।
सन् २०२४ मा नेटफ्लिक्सबाट सार्वजनिक भएको वृत्तचित्रले उनको १०औँ सगरमाथा आरोहणसँगै नेपालको बाल्यकाल, अमेरिका बसाइँसराइ, मातृत्व, आर्थिक संघर्ष र घरेलु हिंसाबाट बाहिरिएको यात्रालाई प्रस्तुत गरेको छ।
वृत्तचित्रले पछि प्रतिष्ठित पिबडी अवार्ड प्राप्त गर्यो। पुरस्कार संस्थाले ल्हाक्पाको साहस, ऊर्जा र कठिन परिस्थितिविरुद्धको संघर्षलाई प्रभावशाली रूपमा प्रस्तुत गरेको भन्दै वृत्तचित्रको प्रशंसा गरेको छ।

सहज बाटोबिनै बनेको विश्व कीर्तिमान
ल्हाक्पाको ११औँ सगरमाथा आरोहण औपचारिक शिक्षा, निरन्तर प्रायोजन वा व्यावसायिक पर्वतारोहणमा सहज प्रवेशबिना बनेको ऐतिहासिक उपलब्धि हो।
उनका लागि सगरमाथा केवल एउटा चुचुरो होइन। यो स्वतन्त्रता, उपचार, आत्मविश्वास र सम्भावनाको ठाउँ बनेको छ। जीवनले बारम्बार कठिनाइ दिए पनि फर्केर उभिने साहस दिएको ठाउँ।
उनको पछिल्लो आरोहणले गिनिज विश्व कीर्तिमान मात्र विस्तार गरेको छैन। यसले उनलाई नेपालका महान् पर्वतारोहीमध्ये एक र विश्व साहसिक खेल क्षेत्रकी सबैभन्दा दृढ व्यक्तित्वमध्ये एकका रूपमा थप स्थापित गरेको छ।
ल्हाक्पाले सगरमाथा ११ पटक जितिन्। तर उनको अझ ठूलो विजय हरेक कठिनाइपछि पुनः निर्माण गरेको आफ्नै जीवन हुन सक्छ।

