
Nepali Movie Parvati: Neeta Dhungana and Ashok Darji’s Emotional Sibling Story
अभिनेत्री तथा निर्देशक नीता ढुङ्गानाको निर्देशनमा बनेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक भएको छ। करिब चार मिनेट लामो ट्रेलरले अटिजम भएकी दिदी र उनका भाइबीचको गहिरो आत्मीयता, पारिवारिक सम्बन्ध र सामाजिक चुनौतीलाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ।
ट्रेलरमा नीता ढुङ्गाना पार्वतीको भूमिकामा देखिएकी छन् भने अशोक दर्जीले उनका भाइ किरणको भूमिका निर्वाह गरेका छन्। दिदीप्रति किरणको माया र संरक्षणभाव तथा भाइप्रति पार्वतीको आत्मीयताले फिल्मको भावनात्मक पक्षलाई बलियो बनाएको देखिन्छ।
पार्वतीले बाल्यकालदेखि समाजमा सामना गर्नुपर्ने व्यवहार, गलत बुझाइ र विभेदलाई पनि ट्रेलरले संकेत गरेको छ। विद्यालयमा अरूले जिस्क्याएपछि उनले प्रतिक्रिया जनाउने र त्यसपछि उनीमाथि विभिन्न आरोप लाग्ने दृश्यसमेत ट्रेलरमा समेटिएको छ।
यी दृश्यले अटिजम भएका व्यक्तिलाई परिवार र समाजले कसरी बुझ्छन् भन्ने विषय फिल्मको महत्त्वपूर्ण पाटो हुने संकेत गर्छन्।
‘पार्वती’ सामाजिक तथा पारिवारिक ड्रामा हो। चलचित्र विकास बोर्डको विवरणअनुसार फिल्मले अटिजम भएकी एक युवतीको जीवनयात्रासँगै परिवार, विशेषगरी भाइसँगको सम्बन्धलाई केन्द्रमा राखेको छ।
अटिजमको कथा बोकेको फिल्म ‘पार्वती’को ट्रेलर हेर्नुहोस्
नीता ढुङ्गानाको निर्देशन तथा कथामा बनेको फिल्ममा उनीसँगै अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल र दिप्त प्रकाश अधिकारीलगायत कलाकारको अभिनय छ।
फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बरालको छायांकन रहेको फिल्ममा रामजी लामिछानेको नृत्य निर्देशन छ। साहिल खानले फिल्मको सम्पादनसँगै ट्रेलर तयार पारेका हुन्।
फिल्मका निर्माता हरिहर अधिकारी हुन् भने शंकर पाण्डे कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजरका रूपमा छन्। रोयल भीमसेनले पोस्टर डिजाइन गरेका छन्।
फिल्मको वितरण एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले गर्दैछन् भने डिजिटल अधिकार ओएसआरसँग रहेको जनाइएको छ।
यसअघि फिल्मको रत्यौली शैलीको गीत ‘नौतुना रेलैमा’ र दिदी–भाइको सम्बन्धमा आधारित भावनात्मक गीत ‘मेरी दिदी’ सार्वजनिक भइसकेका छन्। ‘नौतुना रेलैमा’ सामाजिक सञ्जाल, विशेषगरी टिकटकमा समेत चर्चामा आएको थियो।
‘मेरी दिदी’मा बाबुल गिरीको शब्द तथा संगीत र अशोक दर्जीको स्वर छ। गीतमा नीता र अशोकबीचको दिदी–भाइ सम्बन्धलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ।
टिजरदेखि गीत र अहिले सार्वजनिक ट्रेलरसम्म फिल्मको प्रचार सामग्रीले लगातार पार्वती र किरणको सम्बन्धलाई केन्द्रमा राखेको देखिन्छ। यसले ‘पार्वती’ मनोरञ्जनसँगै अटिजम, पारिवारिक स्वीकार्यता र समाजको दृष्टिकोणबारे संवेदनशील कथा प्रस्तुत गर्ने संकेत दिएको छ।
‘पार्वती’ आगामी भदौ १२ गते अर्थात् अगस्ट २८ बाट देशभर प्रदर्शनमा आउने तयारीमा छ।


