दार्जिलिङ–सिक्किममा रोमान्टिक बने पारस र दिव्या, ‘बेहुली’को ‘म भइनँ भने’ बोलको गीत रिलिज

भदौ २६ गते रिलिज हुने ‘बेहुली’को दोस्रो गीत ‘म भइनँ भने’ सार्वजनिक भएको छ। दार्जिलिङ, मिरिक र सिक्किममा छायांकन गरिएको गीतमा पारस बम ठकुरी र दिव्या रायमाझी रोमान्टिक अवतारमा देखिएका छन्।

नेपाली चलचित्र ‘बेहुली’ले आफ्नो दोस्रो गीत ‘म भइनँ भने’ सार्वजनिक गरेको छ। निर्माण टोलीले पारस बम ठकुरी (कुल ब्वाइ) र दिव्या रायमाझीलाई रोमान्टिक अवतारमा प्रस्तुत गर्दै नयाँ गीत दर्शकमाझ ल्याएको हो।

प्रेमिल भावमा तयार पारिएको ‘म भइनँ भने’मा गायक सुरेश लामा र गायिका दुर्गा खरेलको स्वर सुन्न सकिन्छ। गीतमा चलचित्रका प्रस्तुतकर्तासमेत रहेका संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत छ भने उदयराज पौडेलले एरेन्ज गरेका हुन्।

गीतको अडियोसँगै भिडियोमा पनि निर्माण पक्षले विशेष ध्यान दिएको देखिन्छ। भारतका प्राकृतिक सौन्दर्यले भरिएका दार्जिलिङ, मिरिक र सिक्किमका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा पारस र दिव्याको प्रेमिल केमेस्ट्रीलाई केन्द्रमा राखिएको छ।

चलचित्रका प्रस्तुतकर्ता तथा संगीतकार अर्जुन पोखरेलका अनुसार कथाको गहिराइ र दृश्यको मागअनुसार गीतका लागि ती लोकेसन छनोट गरिएको हो।

भिडियो हेर्नुहोस्

उत्सव दाहालले खिचेको गीतको भिडियोमा सियोन श्रेष्ठको कोरियोग्राफी छ। पहाडी भूगोल र हरियालीबीच पारस र दिव्यालाई प्रस्तुत गरिएको दृश्यले गीतको रोमान्टिक भावलाई थप आकर्षक बनाएको छ।

यसअघि सार्वजनिक चलचित्रको पहिलो गीत ‘दिलमा ठाउँ छ’ ले डिजिटल प्लेटफर्ममा राम्रो प्रतिक्रिया पाएको छ। सामाजिक सञ्जालमा समेत गीतले चर्चा कमाएपछि चलचित्रप्रतिको दर्शकीय चासो बढेको निर्माण पक्षले जनाएको छ।

सशान कँडेल निर्देशित ‘बेहुली’को लेखन माधव शर्माले गरेका हुन्। चलचित्रमा पारस बम ठकुरी र दिव्या रायमाझीसँगै सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायत कलाकारको अभिनय छ।

द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुतिमा बनेको चलचित्रमा अर्जुन पोखरेल प्रस्तुतकर्ता छन्। प्रताप शमशेर राणा निर्माता हुन् भने शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता तथा दुर्गा खरेल र शिशिर श्रेष्ठ सह–निर्माता हुन्। कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर छन्।

चलचित्रमा नरेन्द्र मैनालीको डीओपी, विकास दाहालको सम्पादन र रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी छ। सुदीप कुँवर मुख्य सहायक निर्देशक हुन् भने योगेन्द्र कार्की र मार्लोभ ढुङ्गाना सहायक निर्देशक छन्।

यमप्रसाद ओली प्रोडक्सन हेड रहेको चलचित्रमा किशोर नेपालको प्रोडक्सन डिजाइन, राजु वाइबाको मेकअप र एलेक्स बासुकलाको पहिरन डिजाइन छ।

‘बेहुली’लाई काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स र उपत्यकाबाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्नेछन्। चलचित्रको डिजिटल प्लेटफर्म अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।

चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।