‘मन बिनाको धन २’को पहिलो चरणको छायांकन सकियो, अब मुस्ताङमा छायांकन हुने

‘मन बिनाको धन–२’को काठमाडौं उपत्यकामा पहिलो चरणको २४ दिने छायांकन पूरा भएको छ। टंक बुढाथोकी निर्देशित चलचित्रको टिम अब मुस्ताङमा महत्वपूर्ण दृश्य खिच्ने तयारीमा छ।

Man Binako Dhan 2

टंक बुढाथोकीको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘मन बिनाको धन–२’को काठमाडौं उपत्यकामा पहिलो चरणको छायांकन पूरा भएको छ। भदौ ४ गतेदेखि सुरु भएको काठमाडौं चरणको छायांकन २४ दिनसम्म चलेको थियो।

भदौ ३ गते शुभमुहूर्त गरिएको चलचित्रको काठमाडौं सेड्युल सकिएसँगै निर्माण टिम अब मुस्ताङ जाने तयारीमा छ। केही दिनपछि मुस्ताङमा चलचित्रका महत्वपूर्ण दृश्यहरू छायांकन गरिने निर्माण पक्षले जनाएको छ।

टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको चलचित्रमा नेपाली चलचित्र क्षेत्रका स्थापित तथा चर्चित कलाकारहरूको अभिनय रहेको छ। चलचित्रमा मदनकृष्ण श्रेष्ठ, सरोज खनाल, गौरी मल्ल, विपिन कार्की, पूजा शर्मा, महेश त्रिपाठी, ए.आर. बुढाथोकी, राजाराम पौडेल, किरण केसी, लक्ष्मी गिरी, प्रकाश घिमिरे, निर्मल शर्मा, रश्मिला तामाङ, प्रभातपाल ठकुरी र शंकर श्रेष्ठलगायत कलाकार छन्।

परिवार, सम्बन्ध र भावनात्मक पक्षलाई केन्द्रमा राखेर निर्माण भइरहेको चलचित्रको कथा निर्देशक टंक बुढाथोकीले तयार पारेका हुन्। पटकथा तथा संवाद शिवम् अधिकारीको रहेको छ। चलचित्रको संगीतको जिम्मेवारी पनि निर्देशक बुढाथोकीले नै सम्हालेका छन्।

विष्णुमाया मैनाली बुढाथोकी निर्माता रहेको चलचित्रको छायांकन नरेन्द्र मैनालीले गरेका छन्। मित्र डी. गुरुङ सम्पादनमा छन् भने रेनिश फागोले कलरिङको जिम्मेवारी सम्हालेका छन्।

चलचित्रमा कविराज गहतराजको नृत्य निर्देशन तथा शुक्रराज शाहको द्वन्द्व निर्देशन रहेको छ। नवराज शर्मा मुख्य सहायक निर्देशक हुन् भने भोला सुवेदी ‘प्रनाप’ प्रोडक्सन म्यानेजरका रूपमा कार्यरत छन्।

काठमाडौंमा पहिलो चरणको छायांकन पूरा गरेको निर्माण टिमले मुस्ताङमा चलचित्रका महत्वपूर्ण दृश्यहरू खिच्ने तयारी गरेको छ।

SUBSCRIBE 👉