
क्रिएटिभ इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी (सिआईएफटी) को आयोजनामा राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ आयोजना हुने भएको छ। प्रतियोगिताका लागि आवेदन खुला गरिएको आयोजकले जनाएको छ।
फेसन, सौन्दर्य, व्यक्तित्व, नेतृत्व क्षमता र प्रतिभालाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको प्रतियोगिताले नेपाली युवतीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर दिने सिआईएफटीकी प्रमुख सुचिता सचीले बताइन्।
उनका अनुसार प्रतियोगितासम्बन्धी विभिन्न गतिविधि सेप्टेम्बर ११ देखि नोभेम्बर २८, २०२६ अर्थात् भदौ २५ देखि मंसिर १२, २०८३ सम्म विभिन्न चरणमा सञ्चालन हुनेछन्।
हाल सार्वजनिक गरिएको सहभागिता मापदण्डअनुसार १६ देखि ३२ वर्ष उमेर समूहका युवतीले प्रतियोगितामा आवेदन दिन सक्नेछन्। सहभागीको न्यूनतम उचाइ १५५ सेन्टिमिटर अर्थात् ५ फिट १ इन्च तोकिएको छ।
प्रतियोगिताका लागि एक हजार रुपैयाँ आवेदन शुल्क निर्धारण गरिएको छ। आवेदन तथा प्रतियोगितासम्बन्धी थप जानकारीका लागि सिआईएफटीकी प्रतिनिधि माधुरी कर्णसँग सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।
असोज १० मा अडिसन, २५ प्रतिस्पर्धी छनोट गरिने
आवेदन फाराम संकलनपछि आगामी असोज १० गते शनिबार अडिसन आयोजना गरिनेछ। अडिसनबाट छनोट भएका २५ जना प्रतिस्पर्धीलाई कोरियोग्राफर रोजिन शाक्यको नेतृत्वमा प्रशिक्षण दिइनेछ।
प्रतियोगिताको ग्राण्ड फिनाले आगामी मंसिर ५ गते ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजना गर्ने तयारी छ।
एउटै मञ्चबाट तीन अन्तर्राष्ट्रिय टाइटलका प्रतिनिधि छनोट गर्ने तयारी
आयोजकले ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ मार्फत विभिन्न उमेर समूहका प्रतियोगीलाई समेट्दै तीन अन्तर्राष्ट्रिय टाइटलका लागि नेपाली प्रतिनिधि छनोट गर्ने तयारीसमेत गरेको जनाएको छ।
आयोजकका अनुसार एउटै राष्ट्रिय प्रतियोगिताबाट ‘मिस ग्ल्याम युनिभर्स नेपाल’, ‘मिस ग्ल्याम वर्ल्ड नेपाल’ र ‘मिस टिन ग्ल्याम वर्ल्ड नेपाल’ का लागि योग्य प्रतिनिधि छनोट गर्ने योजना छ।
विभिन्न उमेर समूहका लागि एक–दुई महिनाको अन्तरमा छुट्टाछुट्टै प्रतियोगिता आयोजना गर्दा व्यवस्थापन र सञ्चालनमा कठिनाइ हुने भएकाले एउटै राष्ट्रिय मञ्चबाट उपयुक्त प्रतिनिधि छनोट गर्ने अवधारणा अघि सारिएको आयोजकको भनाइ छ।
अन्तर्राष्ट्रिय टाइटलअनुसार प्रतियोगीको उमेर समूह कसरी विभाजन गर्ने भन्ने विषय भने अन्तिम चरणको छलफलमा रहेको जनाइएको छ। हाल १६ देखि ३०/३२ वर्षसम्मका प्रतियोगीलाई समेट्ने विषयमा छलफल भइरहेको छ भने उमेर समूह र सम्बन्धित टाइटलबारे आवेदन तथा अडिसन प्रक्रियामै स्पष्ट गर्ने वा प्रतियोगिताको क्रममा थप जानकारी दिने विषयमा पनि आयोजकबीच सुझाव आदानप्रदान भइरहेको छ।
अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त डाइरेक्टरसिप लेटरमा उल्लेख गरिएका आधिकारिक टाइटल र प्रावधानलाई आधार बनाएर प्रतियोगिताको अन्तिम संरचना तय गरिने आयोजकले जनाएको छ।
भविष्यमा ‘मिस’ र ‘मिसेस’ विधाका प्रतियोगिता छुट्टाछुट्टै वार्षिक रूपमा आयोजना गर्ने योजना पनि रहेको बताइएको छ। तत्कालका लागि भने ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ लाई केन्द्रमा राखेर एउटै राष्ट्रिय मञ्चबाट योग्य प्रतियोगीलाई विभिन्न अन्तर्राष्ट्रिय अवसर उपलब्ध गराउने तयारी भइरहेको छ।
विजेताले भारतमा नेपालको प्रतिनिधित्व गर्ने
‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ की विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड २०२६’ मा नेपालको आधिकारिक प्रतिनिधित्व गर्ने अवसर पाउने आयोजकले जनाएको छ।
‘मिस ग्ल्याम वर्ल्ड २०२६’ भारतमा सन् २०२६ को अन्त्यतिर आयोजना हुने र नेपालबाट राष्ट्रिय प्रतियोगिताकी विजेता सहभागी हुने बताइएको छ।
अन्तर्राष्ट्रिय मञ्चमा पुग्ने अवसरले विजेतालाई आफ्नो प्रतिभा र पहिचान विश्वसामु प्रस्तुत गर्ने प्लेटफर्म प्रदान गर्ने सुचिता सचीको विश्वास छ।
‘प्रतियोगितामार्फत केवल बाह्य सौन्दर्यलाई मात्र नभई सहभागीको व्यक्तित्व, आत्मविश्वास, नेतृत्व क्षमता, प्रतिभा, प्रस्तुति शैली र सामाजिक चेतनालगायतका पक्षलाई समेत मूल्यांकन गरिनेछ,’ सचीले बताइन्।
सिआईएफटीले फेसन तथा सौन्दर्य क्षेत्रमा रुचि राख्ने युवतीलाई आफ्नो क्षमता प्रदर्शन गर्नुका साथै भविष्यमा यस क्षेत्रमा व्यावसायिक अवसर खोज्न प्रतियोगिताले महत्वपूर्ण मञ्च प्रदान गर्ने जनाएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुकले आवेदन तथा अन्य आवश्यक जानकारीका लागि आयोजक प्रतिनिधि माधुरी कर्णसँग सम्पर्क गर्न सक्नेछन्।

