दुई गर्भवती पात्रबीच दीपकराज, यस्तो छ ‘छ माया छपक्कै २’ को पहिलो झलक

‘छ माया छपक्कै २’ को फस्टलुक पोस्टरमा दीपकराज गिरीसँग केकी अधिकारी र सनिशा भट्टराई गर्भवती पात्रको लुक्समा देखिएका छन्। चलचित्र असोज ३१ गते फूलपातीबाट प्रदर्शनमा आउनेछ।

poster of ‘Chha Maya Chhapakkai 2’, featuring Deepak Raj Giri, Keki Adhikari and Sanisha Bhattarai.

यस वर्षको बहुप्रतीक्षित नेपाली चलचित्र ‘छ माया छपक्कै २’ को पहिलो झलक सार्वजनिक भएको छ। निर्माण टिमले शनिबार फस्टलुक पोस्टर सार्वजनिक गर्दै चलचित्रलाई असोज ३१ गते, फूलपातीको दिनदेखि प्रदर्शनमा ल्याउने घोषणा गरेको हो। असोज ३१, २०८३ अर्थात् अक्टोबर १७, २०२६ मा यस वर्षको फूलपाती परेको छ।

यसअघि चलचित्र दसैँमा रिलिज हुने जानकारी दिइए पनि प्रदर्शनको निश्चित दिन खुलाइएको थिएन। नयाँ पोस्टरसँगै अब चलचित्रको प्रदर्शन मिति औपचारिक रूपमा तय भएको छ।

सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराईलाई प्रस्तुत गरिएको छ। पोस्टरको बीचमा दीपकराज बाँसुरी बजाइरहेका छन् भने उनको दायाँ–बायाँ केकी र सनिशा गर्भवती पात्रको लुक्समा देखिएका छन्।

पोस्टरमा देखाइएको यही संयोजनले तीन पात्रबीचको सम्बन्धलाई लिएर कौतुहलता बढाएको छ। दुई गर्भवती पात्रसँग दीपकराजको पात्रको सम्बन्ध के हो भन्नेबारे निर्माण पक्षले विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

दीपेन्द्र लामाको निर्देशन र रोहित अधिकारीको निर्माणमा बनेको ‘छ माया छपक्कै २’ सामाजिक तथा राजनीतिक विषयवस्तुमा केन्द्रित रहेको बताइएको छ। चलचित्रको पटकथा दीपकराज गिरी र दीपेन्द्र लामाले तयार पारेका हुन्।

‘छ माया छपक्कै’को पहिलो भाग सन् २०१९ अर्थात् २०७६ सालमा प्रदर्शनमा आएको थियो। उक्त चलचित्रले खानेपानीको अभाव, स्थानीय राजनीति र फरक राजनीतिक पृष्ठभूमिका परिवारबीच विकसित प्रेमसम्बन्धलाई हास्यव्यंग्यसँग जोडेर प्रस्तुत गरेको थियो।

पहिलो चलचित्रपछि दीपकराज गिरी र केकी अधिकारी पुनः मुख्य भूमिकामा देखिँदैछन् भने यसपटक सनिशा भट्टराईको प्रवेशले कथामा नयाँ आयाम थप्ने संकेत गरेको छ। यद्यपि निर्माण टिमले पात्रहरूको सम्बन्ध र मुख्य द्वन्द्वबारे अझै रहस्य कायम राखेको छ।

SUBSCRIBE 👉