बाल्यकालमा क्यान्सर जितेकी विवेक ओबेरोयकी धर्मपुत्री साहारा आर शाहको नेपाली फिल्ममा डेब्यु

विवेक ओबेरोयको उपस्थितिमा मुम्बईमा नेपाली फिल्म ‘२६ करोड’ घोषणा भएको छ। क्यान्सर जितेकी साहारा आर शाहले यो फिल्ममा प्रदीप खड्कासँग देखिदै अभिनयमा डेब्यु गर्नेछिन्।

बाल्यकालमा क्यान्सरसँग संघर्ष गरेकी साहारा आर शाह अब नेपाली फिल्मको पर्दामा देखिने भएकी छन्। मुम्बईमा आयोजित कार्यक्रममा उनलाई फिल्म ‘२६ करोड’को मुख्य अभिनेत्रीका रूपमा अनुबन्ध गरिएको छ। फिल्ममा उनको जोडी अभिनेता प्रदीप खड्कासँग बाँधिनेछ।

मंगलबार साँझ मुम्बईको ताज ल्यान्ड्स एन्ड होटलमा क्यान्सर पेसेन्ट्स एड एसोसिएसन (CPAA)ले आयोजना गरेको ‘रोज डे’ कार्यक्रममा फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो। बलिउड अभिनेता विवेक ओबेरोयको उपस्थितिमा निर्माता सुवास भुसाल र साहाराले सम्झौतापत्रमा हस्ताक्षर गरे।

साहाराको डेब्यु ओबेरोयका लागि भावुक क्षण बन्यो। बाल्यकालदेखि नै उनलाई साथ दिँदै आएका ओबेरोयले क्यान्सरसँग संघर्ष गरिरहेकी सानी बालिकालाई आज फिल्मकी मुख्य अभिनेत्रीका रूपमा देख्दा गर्व र खुसी लागेको बताएका छन्। साहाराले क्यान्सरमाथि विजय हासिल गरेकी छन्।

अनुपम खेरको अभिनय प्रशिक्षण संस्था ‘एक्टर प्रिपेयर्स’मा प्रशिक्षण लिएकी साहारा अडिसनबाट छनोट भएको निर्देशक विकास सुवेदीले बताए। उनका अनुसार फिल्मको कथाका लागि हिन्दी लवज भएकी अभिनेत्री आवश्यक थियो।

सामाजिक विषयवस्तुमा बन्ने ‘२६ करोड’को लेखन र निर्देशन सुवेदीले गर्नेछन्। प्रदीप खड्का यसअघि नै मुख्य भूमिकामा अनुबन्धित भइसकेका थिए। फिल्ममा आबद्ध हुनुअघि साहाराले ओबेरोय र फिल्म ‘तारे जमिन पर’का लेखक अमोल गुप्तेसँग आशीर्वाद लिएकी थिइन्।

किङडम नेटवर्कको ब्यानरमा बन्ने फिल्मको छायांकन आगामी नोभेम्बर–डिसेम्बरमा नेपालको जुम्ला र काठमाडौं तथा भारतको मुम्बई र केदारनाथमा गर्ने योजना रहेको निर्माता भुसालले बताएका छन्। कर्णाली फिल्म फेस्टिभलका निर्देशक चक्रबहादुर चन्दको संयोजनमा मुम्बईमा घोषणा कार्यक्रम गरिएको निर्माण पक्षको भनाइ छ।

SUBSCRIBE 👉