
नेपाली फिल्मको बक्स अफिसमा केही फिल्मले दर्शकको राम्रो साथ पाइरहँदा ‘माया बस्छ कि के हो !’ भने अत्यन्त कमजोर व्यापारमा सीमित भएको छ। असोज २ गतेदेखि प्रदर्शनमा आएको फिल्मले असोज ११ गतेसम्म ९२ वटा टिकट बिक्री गर्दै जम्मा २३ हजार ६६० रुपैयाँ ग्रस कलेक्सन गरेको चलचित्र विकास बोर्डको तथ्यांकले देखाएको छ।
यो व्यापारिक आँकडाले फिल्मलाई यस वर्ष प्रदर्शनमा आएका कमजोर व्यापार गर्ने नेपाली फिल्ममध्ये एक बनाएको छ। फिल्म रिलिजअघि मुख्य अभिनेता सोनाल तामाङको लुक्स अभिनेता अनमोल केसीसँग मिल्ने भन्दै चर्चा भएको थियो। त्यसले सोनाललाई केही मिडिया एक्सपोजरसमेत दिलाएको थियो।
तर रिलिजपछि उक्त चर्चालाई फिल्मले टिकट बिक्रीमा बदल्न सकेन। असोज २ गते देखि ‘माया बस्छ कि के हो !’, ‘झिँगेदाउ २’ र ‘कार्की साइँला’सँगै हलमा प्रदर्शनमा आएको थियो।
फिल्मका लागि लामो समयको प्रतीक्षा पनि जोडिएको थियो। कोभिड महामारीअघि निर्माण भएको फिल्म प्रदर्शनमा आउन करिब पाँच वर्ष ढिला भएको थियो।
रिलिजअघि सोनालले लामो समयको अन्तरालका कारण फिल्मलाई अहिलेको समयअनुकूल बनाउन ‘पोलिस’ गर्ने प्रयास गरिएको बताएका थिए। उनले यही फिल्मलाई आफ्नो अभिनय यात्राको ‘स्टेपिङ स्टोन’का रूपमा लिएको बताएका थिए।
प्रेमकथामा आधारित फिल्ममा विदेशमा अध्ययन तथा रोजगारीका लागि पुगेका युवायुवतीको प्रेम, सम्बन्धमा आउने मतभेद र विछोडको कथा प्रस्तुत गरिएको छ। फिल्मका अधिकांश दृश्य बेल्जियम, स्विट्जरल्यान्ड र नेदरल्यान्ड्ससहित युरोपका विभिन्न स्थानमा छायांकन गरिएको हो।
राजु अधिकारी निर्देशित फिल्ममा सोनाल तामाङ र कस्मता निरौला मुख्य भूमिकामा छन्। आरती अधिकारीको कथा रहेको फिल्मको पटकथा तथा संवाद मौनता श्रेष्ठले लेखेका हुन्।
फिल्ममा नरेन्द्र थापा, उपेन्द्र थापा, बेनी ढुंगाना, सब्बु पौडेल, तारा शर्मा, हरिकृष्ण कार्कीलगायत कलाकारको पनि अभिनय छ।
जनपुकार मिडिया हाउसको ब्यानरमा निर्माण भएको फिल्ममा शरद अधिकारी निर्माता र बहादुरसिंह तामाङ कार्यकारी निर्माताका रूपमा उल्लेख छन्।
रवीन्द्र बरालको छायांकन रहेको फिल्मलाई रामप्रसाद चौधरीले सम्पादन गरेका हुन्।
रिलिजअघि युरोपमा गरिएको छायांकन, प्रेमकथा र नयाँ अनुहारका कारण फिल्मले केही चर्चा पाए पनि बक्स अफिसमा भने त्यसको प्रभाव देखिएन।
असोज २ देखि ११ गतेसम्मको ९२ टिकट र २३ हजार ६६० रुपैयाँको कारोबार फिल्मका लागि अत्यन्त कमजोर सुरुवात बनेको छ।

