
श्रीमान्–श्रीमतीको सम्बन्धमा आउने उतारचढाव र नेपाली घरपरिवारका दैनिक घटनालाई पर्दामा उतार्ने चलचित्र ‘श्रीमान् श्रीमती’को छायांकन सकिएको छ। दीपेन्द्र के खनाल निर्देशित चलचित्रमा खगेन्द्र लामिछाने र सुरक्षा पन्त मुख्य भूमिकामा छन्।
काठमाडौंका विभिन्न स्थानमा खिचिएको चलचित्रले तीन हप्तामा छायांकन पूरा गरेको हो। निर्माण टोलीले यही अवधिमा गीतको छायांकन पनि सकेको छ।
गम्भीर विषयवस्तुमा चलचित्र बनाउँदै आएका खनालले यसपटक दाम्पत्य सम्बन्धलाई कथाको केन्द्रमा राखेका छन्। उनका अनुसार ‘श्रीमान् श्रीमती’ पूर्ण पारिवारिक चलचित्र हो, जसमा दर्शकले आफ्नै घरमा भइरहने घटनाक्रमसँग जोडिन सक्नेछन्।
दर्शकको अहिलेको रुचिसँग मेल खाने कथा भए पनि बजारलाई मात्रै हेरेर चलचित्र नबनाएको खनाल बताउँछन्। “यद्यपि, दर्शकले मन पराइरहेको कथा भनेर हामी बजारमुखी भएर सिनेमा बनाएका छैनौँ, इमान्दार भएर सिनेमा बनाएका छौँ,” उनले भने।
घरभित्रका परिचित घटना र सम्बन्धका उतारचढाव समेटिएकाले दर्शकले चलचित्रमा आफ्नोपन भेट्ने उनको विश्वास छ। कथाको विस्तृत विवरण भने निर्माण टोलीले खुलाएको छैन।
पटकथा प्रडक्सन र टुकी आर्ट्सको प्रस्तुतिमा बनेको चलचित्रका निर्माता खगेन्द्र लामिछाने र दीपेन्द्र के खनाल हुन्। खगेन्द्र र सुरक्षासँगै लक्ष्मी गिरी र सुवास गजुरेलको पनि अभिनय छ।
यसअघि खगेन्द्र र सुरक्षाले खनालकै निर्देशनमा बनेको चलचित्र ‘धनपति’मा पनि मुख्य भूमिकामा काम गरेका थिए।
चलचित्रको कथा खनालले लेखेका हुन्। पटकथा तथा संवाद भने खनाल र महेश दवाडीले संयुक्त रूपमा तयार पारेका छन्। करण श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रका छायाकार कृष्ण बा. थापा हुन्।
छायांकन सकिए पनि निर्माण टोलीले ‘श्रीमान् श्रीमती’को प्रदर्शन मिति घोषणा गरेको छैन।









