
Anmol KC and Princy Khatiwada, alongside Bhuwan KC and Garima Panta, in romantic scenes from the title song of ‘Batulo Jun’.
अनमोल केसी र प्रिन्सी खतिवडा अभिनीत फिल्म ‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक भएको छ। सनराइज पिक्चर्सले युट्युबमार्फत सार्वजनिक गरेको गीतमा अनमोल र प्रिन्सीसँगै भुवन केसी र गरिमा पन्त पनि देखिएका छन्।
गीत सार्वजनिक भएसँगै फिल्ममा गरिमाको उपस्थितिसमेत दर्शकमाझ आएको छ। यसअघिका प्रचार सामग्रीमा निर्देशकसमेत रहेका भुवनलाई देखाइएको भए पनि निर्माण टोलीले गरिमालाई सार्वजनिक गरेको थिएन। पछिल्लो समय नेपालबाहिर बस्दै आएकी गरिमा यही फिल्ममार्फत नेपाली पर्दामा फर्किन लागेकी हुन्।
फिल्मकै नाममा तयार पारिएको गीतमा राम अविरल बिष्टको शब्द तथा एसडी योगी र सानु सुनारको स्वर छ। संगीत संयोजन योगीले गरेका हुन् भने गीतको नृत्य निर्देशन कविराज गहतराजले गरेका छन्।
यसअघि निर्माण टोलीले ‘अल्लारे ठिटो आयो’ बोलको गीत सार्वजनिक गरेको थियो। अनमोल र प्रिन्सीलाई प्रस्तुत गरिएको उक्त गीतपछि आएको शीर्ष गीतले फिल्मका थप कलाकारको झलक दिएको छ।
भुवन केसी निर्देशित ‘बाटुलो जून’का निर्माता जिया केसी र भविष्य खड्का हुन्। विवेक थापा सहनिर्माता रहेका छन्।
फिल्ममा अनमोल, प्रिन्सी, भुवन र गरिमासँगै नेन्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना, लक्ष्मी गिरी, दीपक केसी, रेअर राई र श्वेता मिश्रको अभिनय छ। सुजन भाई, सविन कट्टेल, सिद्धार्थ सिंह, अमितेश शाह, हीना नगरकोटी र संगी अधिकारी पोखरेल पनि कलाकार टोलीमा छन्।
फिल्मको लेखनमा सामीप्यराज तिमल्सेना र सरिन पोखरेलले सहकार्य गरेका छन्। कृष्ण भण्डारीले सम्पादन गरेको फिल्ममा रोमन बज्राचार्यको पार्श्व संगीत छ भने प्रदीप श्रेष्ठ एसोसिएट निर्देशक हुन्।
‘बाटुलो जून’ कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।







