ग्ल्यामर नेपाल, काठमाडौं ।
‘लोफर’ रिलिज हुने बेला रजनी केसी दंग थिइन्। नहुन पनि कसरी?, छविराज ओझाजस्ता सफल निर्माताका फिल्मबाट उनको डेब्यु हुँदै थियो, त्यसमाथि दयाहाङ राई र आर्यन सिग्देलजस्ता अहिलेका सुपरस्टारका साथमा। तर रिलिजश्चात त्यो उत्साह मर्यो। कारण, फिल्म व्यावसायिकरुपमा पूर्ण असफल सावित भयो। ‘लोफर’ रिलिज भएको वर्ष दिन बितिसक्दा पनि दोस्रो फिल्म रिलिज नहुनुबाट उनको करिअरमा आइपरेको अड्चन अनुमान लगाउन सकिन्छ।
कतिसम्म भने छविका पछिल्ला फिल्ममा पनि रजनीले स्थान पाइनन्। छविले अर्की नयाँ हिरोइन शिल्पा पोखरेललाई लिएर भटाभट दुई फिल्म ‘लज्जा’ र ‘हवल्दार सुन्तली बनाउनुले फिल्मवृत्तमा रजनीको चर्चा सेलायो। छविको नयाँ फिल्म ‘किस्मत २’मा पनि शिल्पा औपचारिकरुपमा अनुबन्ध भएकी छिन्। कतिपयले उनी पलायन भएको अड्कलबाजी गर्न थालिसकेका थिए तर रजनीले यो कुरा ठाडै स्वीकार गरिन्। आफ्नो दोस्रो फिल्म ‘प्रवास’ हाल पोष्ट प्रोडक्सनको क्रममा रहेको उनको भनाई छ। नारायण रायमाझीले निर्देशन गरेको यो फिल्ममा उनी प्रशान्त तामाङको अपोजिटमा छिन्। रजनीले भनिन्, “म धेरैभन्दा राम्रा फिल्म खेल्ने प्रयासमा छु। प्रवासले दर्शकको म प्रतिको अपेक्षा पुरा गर्नेछ।” यसका साथै उनले आफू छिट्टै नयाँ प्रोजेक्टमा अनुबन्ध हुन लागेको जानकारी पनि गराइन्।

