काठमाडौं । अभिनय गर्नु ठूलो कुरा होईन, त्यसलाई जिवन्तता दिन सक्नु नै महान हो । अभिनेता सुन्दर श्रेष्ठ अभिनय गर्दा जहिल्यै पनि यही कुरालाई सोचेर काम गरिरहेका हुन्छन् ।
२०४४ सालबाट रंगमञ्चमा कलाकारका रुपमा छिरेका उनी अहिले फिल्म क्षेत्रमा स्थापित कलाकार भईसकेका छन् । सानो र ठूलो पर्दाको गरी तीन दर्जन भन्दा बढी फिल्ममा काम गरिसके पनि आफुले चाहेजस्तो अभिनय गर्न नपाएकोमा सुन्दर दुःखी छन् । ‘चित्कार’, ‘स्वाभिमान’, ‘मस्ती’, ‘हाम्रो जीवन साथी’, ‘मायाज बार’, ‘आगो २’ आदि फिल्ममा अभिनय कला देखाईसकेका उनले आफ्नो कलालाई निर्देशकले न्याय दिन नसकेको दाबी गर्छन् । ‘मेरो कला क्षमता निर्देशकले बुझ्न सकेका छैनन्,’उनी भन्छन्,‘त्यसकारण पनि दर्शकमाझ मैले राम्रो भूमिकामा देखाउन सकेको छैन ।’
नकारात्मक र सकारात्मक दुवै भूमिका सहज रुपमा अभिनय गर्न तयार हुने सुन्दर पछिल्लो समयमा फिल्म निर्माणमा पनि सक्रिय छन् । उनले निर्माण गरेको फिल्म ‘सकस’ प्रदर्शनको क्रममा छ भने ‘नालायक’ छायांकनमा छ ।