लिम्बु भाषा गीतहरुका लोक प्रिय गायक सुसन साम्सोहाङ लिम्बुको नेपाली लोक-आधुनिक गीतहरुको संग्रह ‘सोल्टिनी’ लाई मण्डला थिएटरमा आयोजित एक सांगीतिक समारोहका विच संगीतकार राजु सिंह, गायक राजेशपायल राई, गायक सत्यराज आचार्य, व्यंग्यकार मनोज गजुरेल तथा एमाले नेता योगेश भट्टराईसहितको समुहले एल्बम विमोचन गरे।
१४ वर्षअघि नै धरानमा संगीतकर्मी ओमप्रकाश राईसंग संगीतको औपचारिक प्रशिक्षण लिएर सांगीतिक क्षेत्रमा उदाएका गायक सुसन साम्सोहाङले ‘सोल्टिनी’ एल्बममा पाँच वटा गीत समावेश गरेका छन्। संगीतकर्मीहरु गुरुदेव कामत, कैलाश राई तथा चण्डीप्रसाद काफ्लेका चेला, लिम्बु भाषाका गीतहरुका लोक प्रिय गायक हुन्।
तीन वर्षअघि ‘सुसन’ शीर्षकको एल्बममार्फत नेपाली सांगीतिक क्षेत्रमा डेब्यू गरेका सुसनले ‘सोल्टिनी’ एल्बमका गीतहरुमा हरी लम्साल, उत्तमराज लिम्बु, खेमराज गुरुङ, विक्रम थापा तथा आफ्नै संगीतका गीत गाएका छन् । नरेश भट्टराई, उत्तमजंग थापा, खेमराज गुरुङ, सन्तोष मादेन तथा रमेश अधिकारीले एल्बमका गीतहरु रचना गरेका हुन्।
ताप्लेजुङका यी गायकको एल्बम विमोचन समारोहमा उपस्थित उनकै गाउँले व्यंग्यकार मनोज गजुरेल तथा नेता योगेश भट्टराईले एल्बमका गीतहरुको सफलताको शुभकामना दिए। समारोहमा गायक सत्यराज आचार्यले एल्बमका गीतहरुको समिक्षा गर्दै पूर्वेली भाकाका गीतहरुको एल्बमले स्राेताको मन जित्ने दावी गरे। प्रमुख अतिथिको रुपमा गायक राजेशयाल राईले पनि गायक सुसनको गायनको प्रसंसा गर्दै थप मेहनत गर्ने सुझाव दिए।
समारोहमा एल्बमको शीर्षक गीत ‘सोल्टिनी’ को म्युजिक भिडियो समेत प्रिमिएर गरियो। यूगल पोमोले निर्देशन गरेको भिडियोमा पार्वती राई तथा धर्मेन्द्र आचार्यले अभिनय गरेका छन्।



