आर्यनको रोमान्स कि दयाहाङको कमेडी ?


aryan-sigdel-and-dayahang-rai

ग्ल्यामर नेपाल, काठमाडौं । ५ वर्ष अगाडी ‘मेरो एउटा साथी छ’ रिलिज हुँदा फिल्म क्षेत्रमा आर्यन सिग्देलको चर्चा चुलिरहेको थियो भने दयाहाङ राईलाई चिन्ने दर्शक असाध्यै कम थिए। क्युट आर्यनको अगाडी मंगोल लुक्सका दयाहाङ फिक्का देखिन्थे। त्यसैले हुनुपर्छ, निर्देशक सुदर्शन थापाले ‘मेरो एउटा साथी छ’मा आर्यनलाई लिड रोलमा खेलाउँदा दयाहाङलाई सहायक भूमिकामा सिमित गरे। फिल्म हिट भयो। क्रेडिट जति आर्यनले पाए । दयाहाङ मार्क भएनन्।

तर अहिले परिस्थिती निकै बदलिएको छ। आर्यनको करिअर ओरालो लागिरहँदा दयाहाङ नम्वर वानको दौडमा छन्। दर्जनभन्दा बढि फिल्ममा मुख्य भूमिका निर्वाह गरिसकेका छन्। उनको कमेडी पाराको एक्टिङले सबैको मन जितेको छ। कतिसम्म भने केही समय अगाडी रिलिज भएको फिल्म ‘लोफर’मा उनले आर्यनलाई छायाँमा पारेका थिए। निर्माण पक्षले फिल्मको पोष्टरमा आर्यनलाईभन्दा उनलाई धेरै स्पेस दिएको थियो। तर पनि आर्यन र दयाहाङमध्ये को बढि लोकप्रिय ? भन्ने जिज्ञासा अझ मेटिएको छैन्।

आउँदो शुक्रबारबाट भने यी दुई अभिनेताको वास्तविक दम थाहा हुनेछ। किनभने शुक्रबारबाट आर्यनको ‘नोभेम्बर रेन’ र दयाहाङको ‘कबड्डी’ रिलिज हुँदैछ। रमाइलो संयोग के हो भने फिल्ममा उनीहरुको अभिनय मात्र होइन, लगानी पनि रहेको छ। यद्यपी प्रमोशनमा भने ‘नोभेम्बर रेन’ केही अगाडी देखिएको छ।

नामैले पनि ‘नोभेम्बर रेन’ प्रेमकथामा आधारित रहेको अनुमान लगाउन सकिन्छ। दिनेश राउतले निर्देशन गरेको फिल्ममा आर्यनले नम्रता श्रेष्ठ र छुल्ठिम गुरुङसँग रोमान्स गरेका छन्। ताराप्रकाश लिम्बुको संगीतले पनि निकै चर्चा दिलाएको छ फिल्मलाई। विवाहपछि रिलिज हुन लागेको आर्यनको पहिलो फिल्म भएकोले पनि निकै उत्सुकता जगाएको छ। नम्रताको हाई फ्यान फलोइङले पनि दर्शकलाई हलसम्म तान्ने विश्वास छ। तर दिनेशको ‘आइ एम सरी’ जस्तै यो फिल्म पनि स्लो रहेको चर्चा अनुमान गरिएको छ। यो चाहीं फिल्मको सफलताको बाधक बन्न सक्छ।

उता, राजबाबु गुरुङले निर्देशन गरेको ‘कबड्डी’ले केही जनजातीमा रहेको मामाचेला फुपुचेली सम्बन्धलाई उठान गरेको छ। जहाँ एउटा सहरीया ठिटोको भिलेनको रुपमा इन्ट्रि हुन्छ। विषयवस्तुका हिसाबलेमात्र होइन्, लोकेशनमा पनि नयाँपन छ। फिल्मको अधिकांश भाग मुस्ताङमा सुटिङ गरिएको छ। प्रोमोबाट फिल्म कमेडी बेसमा निर्मााण गरिएको अनुमान लगाउन सकिन्छ। फिल्ममा दयाहाङसँगै निश्चल बस्नेत र रिस्मा गुरुङको पनि अभिनय रहेको छ। ब्लकबस्टर फिल्म ‘लुट’का निर्देशक निश्चलले अभिनय गरेको यो दोस्रो फिल्म हो भने गुरुङ भाषाका दुई फिल्ममा काम गरिसकेकी रिस्माको नेपाली भाषाको पहिलो फिल्म हो यो।

उसो त ‘नोभेम्बर रेन’ र ‘कबड्डी’को बक्स अफिस कलेक्सनले आर्यन र दयाहाङको लोकप्रियता निर्धारण गर्ने मात्र होइन्, दर्शकहरु फिल्मको कथा, प्रस्तुती र अभिनय शैलीमा नयाँपन खोजिरहेका छन् कि छैनन् ? भन्ने पनि निक्र्यौल हुनेछ। ‘कबड्डी’ सफल हुनु भनेको दर्शक नयाँपन खोजिरहेका छन् भन्ने संकेत हो।

SUBSCRIBE 👉