ग्ल्यामर नेपाल, काठमाडौं । विकास आचार्य निर्देशित फिल्म ‘नाइँ नभन्नु ल २’ रिलिजको तेस्रो हप्तामा पनि निरन्तर हुने भएको छ। गत चैत्र २८ गते रिलिज भएको यो फिल्ममा दर्शकको फ्लो अझ घटेको छैन्। माउथ पब्लिसिटीको कारण दर्शक बढेपछि केही हलहरुमा भोलीबाट पनि यसलाई अरु फिल्मले रिप्लेस नगर्ने भएका छन्। जसको प्रत्यक्ष मारमा शुक्रबारबाट रिलिज हुन लागेका दुई फिल्म ‘नोभेम्बर रेन’ र ‘कबड्डी’ परेका छन्। ‘नाइँ नभन्नु ल २’ नउत्रिएपछि ‘नोभेम्बर रेन’ करिब ४० र ‘कबड्डी’ ३० हलमा मात्र प्रदर्शन हुने भएका छन्।
‘नाइँ नभन्नु ल २’ले दुई हप्तामा तीन करोड ग्रस गरिसकेको निर्माण पक्षले जानकारी दिएको छ। फिल्मको सांगीतिक पक्ष, कथा र कलाकारको अभिनय निकै मन पराइएको छ। बालकलाकार अनुभव रेग्मी र सुज्ञानी भट्टराईलाई फिल्मले स्टार बनाएको छ भने बालगायक प्रेम परियारको स्वर चर्चाको शिखरमा छ। वान टाइम सिनेमाको ब्यानरमा निर्माण भएको यो फिल्ममा सुरजसिंह ठकुरी, प्रियंका कार्की, सिताराम कट्टेल, सरोज खनाल, जीवन लुँइटेल, वर्षा सिवाकोटी, सोहित मानन्धरलगाएतका कलाकारको पनि अभिनय रहेको छ । फिल्ममा बसन्त सापकोटा र गैरे सुरेशको संगीत सुन्न सकिन्छ।
भोली शुक्रबारबाट रिलिज हुने ‘नोभेम्बर रेन’लाई दिनेश राउतले निर्देशन गरेका हुन्। फिल्ममा आर्यन सिग्देल, नम्रता श्रेष्ठ र छुल्ठिम गुरुङको त्रिकोणात्मक प्रेम सम्बन्ध देख्न सकिन्छ। विवाहपछि रिलिज हुन लागेको आर्यनको पहिलो फिल्म भएकोले पनि निकै चर्चा पाएको छ । उनले सुवास गिरीसँग मिलेर यो फिल्म निर्माण गरेका हुन्।

Nepali Movie Kabaddi Poster
राजबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी’ पनि शुक्रबारबाट रिलिज हुँदैछ। यद्यपी पोखरा र हेटौंडामा भने यो फिल्म विहीबारबाटै रिलिज भएको छ। दयाहाङ राई, निश्चल बस्नेत, रिस्ता गुरुङ निर्देशित यो फिल्मले केही जनजाती समूदायमा रहेको मामाचेला–फुपुचेली सम्बन्धको कथा भनेको छ । फिल्मको अधिकांश भाग मुस्ताङका रमणीय दृश्यमा खिचिएको छ।