दीपकको नयाँ फिल्मको निर्देशकमा विकास आचार्य – निश्चल बस्नेत हिरो हुने सम्भावना!


छक्का–पञ्जाको अपार सफलता पछि अब दीपकराज गिरीले कुन फिल्म कसलाई लिएर बनाउछन् भन्ने चासोको विषय बनेको छ। वडा नम्बर ६ र ६ एकान ६ मार्फत पनि उनले आफूलाई अब्बल निर्माता र अभिनेताका रुपमा प्रमाणित गरेका थिए। हरेक फिल्ममा निर्देशक परिवर्तन गर्दै आएका दीपकले आफ्नो चौथो प्रोजेक्टका लागि विकास आचार्यलाई रोजेका छन्। फिल्म आमा सरस्वती मुभिजकै ब्यानरमा बन्ने छ। फिल्मको नाम भने तय भइसकेको छैन। यद्यपी अघिल्ला फिल्मझैं यसको नाम ६ बाट नआउने दीपकले बताए।

नाम तय नभएको फिल्मको स्क्रिप्ट विकास आफैंले लेखेका हुन्। सो पटकथामा लोभिएपछि दीपकले किनेका हुन्। कमेडी लभ – स्टोरी भनिएको यस फिल्ममा तिन जना हिरोको हुनेछन्। ति मध्ये केही कलाकार चयन भइसकेका छन् भने केही छानिने क्रममा छन्।

बुझिए अनुसार यो फिल्ममा एक हिरोका लागी जितु नेपालको अभिनय रहने पक्का भइसकेको छ भने अर्को हिरोको लागी निर्देशक-निर्माता निश्चल बस्नेत सँग पनि कुराकारी भइरहेको छ। हिरोइन पनि फाइनल नभएको दीपकले बताए। उनका अनुसार फिल्म फागुन महिनाको मध्यबाट फ्लोरमा जानेछ।

‘नाईं नभन्नु ल’ सिरिजबाट वाहवाही कमाएका विकासले दीपकको व्यापारिक सफलताको रफ्तारलाई निरन्तरता देलान कि नदेलान ? समयले नै बताउने छ।

SUBSCRIBE 👉