नाजिर हुसेन ‘राज्जा’ र केकी अधिकारी ‘रानी’ – जम्ला त जोडी ?


फिल्म ‘राज्जा रानी’निर्माण हुने भएको छ। फिल्म निर्माण युनिटले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा फिल्मको शुभसाइत सहित कास्ट एन्ड क्रिउबारे जानकारी गराएका छन्। केकी अधिकारी, नाजिर हुसेन र कामेश्वर चौरासिया मुख्य भूमिकामा देखिदै छन्। लक्ष्मीबर्देवा, संगीतानापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य र अनुज थापाको समेत फिल्ममा अभिनय हुनेछ।

फिल्म ‘कोहिनुर, वीर विक्रम, शब्द, के म तिम्रो होइन र रानी’ का लेखक यम थापा यो फिल्मबाट निर्देशनमा डेब्यु गर्दैछन्। ‘राज्जा रानी प्रेम हो, यसलाई प्रेमकै रुपमा बुझ्नूस – फिल्मबारे निर्देशक थापाले भने, ‘पश्चिम तराई र मधेशमा बोलिने शब्दावली र संवेदना माथि फिल्म बनाउन लागेका हौं।’

रमेश एम के पौडेलको लगानीमा ‘राज्जा रानी’ निर्माण हुन लागेको हो। पौडेल डिस होम तथा सीम टिभीका संस्थापक प्रमुख हुन्। आर्यनफिल्म्स प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्ममा लाइन प्रोड्युसरका रुपमा अनुप भट्टराई छन्। भट्टराई रङ्गमंच क्षेत्रमा फरक कोण नामले परिचित छन्।

फिल्ममा तारा प्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन हुनेछ। फागुन ५ देखि नेपालगंज बाट फिल्मको छायांकन शुरु हुनेछ। ३५ दिनको छायाँकन अवधी राखिएको फिल्म घोषणा समारोहमा रेखा थापा र भुवन केसीको समेत उपस्थिती थियो।

SUBSCRIBE 👉