ग्ल्यामर नेपाल, काठमाडौं। पोखरादेखि काठमाडौंसम्मको यात्रामा भएका रोमाञ्चक र डरलाग्दा किसिमका विविध घटनाको कथा बुनिएको फिल्म ‘फन्को’ निर्माण हुने भएको छ। निर्देशक सुवर्ण थापाले निर्देशन गर्न लागेको फिल्म एक्सन थ्रिलर शैलीको रहनेछ।
निर्देशक सुवर्णका अनुसार फिल्मले समाजमा देखिने द्वन्द्वलाई पर्दामा देखाइनेछ। फिल्मको शनिवार बिहान राजधानीको चावहिलस्थित गणेश मन्दिरमा शुभसाइत गरियो। नरेन्द्र महर्जन, सहदेव गौतम र पदम गुरुङ निर्माता रहेको फिल्ममा सौगात मल्ल, केकी अधिकारी, अनुप बराल, दयाहाङ राई र प्रियंका कार्कीको प्रमुख भूमिकामा अभिनय रहनेछ। फिल्ममा सौगात पहिलोपटक ड्राइभरको भूमिकामा देखिँदैछन् भने दयाहाङ राजनीतिमा संघर्षशिल युवाको भूमिकामा प्रस्तुत हुँदैछन् । त्यस्तै अनुप चाहिँ ठेकेदार बन्दैछन्।
करिब ४० लाखको लागतमा निर्माण हुन लागेको फिल्मको सुटिङ मंगलबारबाट शुरु हुँदैछ। निर्देशक थापाका अनुसार ७० प्रतिशत सुटिङ राजमार्गमा नै गरिनेछ। एक महिनामा सुटिङ सकिने योजना रहेको फिल्ममा कविराज गहतराजको नृत्य, चेतन सापकोटाको संगीत, चन्द्र पन्तको द्वन्द्व, राजेन्द्र थापाको गीत र हरि लामाको छायांकन रहनेछ।