दृष्टिबिहिनका परिवारका लागि घर बनाउँदै जिग्री र पाँडे


हाँस्य टेलिसिरियल ‘भद्रगोल’का दुई चर्चित कलाकार अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री)को पहलमा दृष्टिबिहिन तीन परिवारका लागि घर निर्माण गर्ने कार्य सुरु भएको छ। जिग्री-पाँडे प्रतिष्ठान नेपालले सप्तरीको गम्हरीया प्रवाहामा रहेका अतिबिपन्न दृष्टिबिहिन तिन परिवारका १७ सदस्यका लागि घर निर्माण सुरु गरेको हो।

गत शनिबार घरको शिलान्यास गरिएको छ। धुर्मस–सुन्तली (सिताराम कट्टेल र कुञ्जना घिमिरे)ले शिलान्यास गरेका हुन्। शिलान्यास गर्दै सिताराम कट्टेलले जिग्री पाँडे प्रतिष्ठानबाट राम्रो कार्यको सुरुवात भएको र सामाजिक कार्यमा आउने दुःखहरुबाट हरेश नखाई निरन्तर अघि बढ्न सल्लाह दिए।

उनले भने, ‘काम गर्न निकै चुनौतिपुर्ण छ। धेरै बाधाअर्चन खेपनुपर्छ। यी कुराहरुलाई मनन् गर्दै काममा अघि बढ्नु। काम गर्दै जाँदा भोली कसैले पनि प्रश्न उठाउने वातावरण सिर्जना नगर्नु। किनकी मैले तीन-तीन वाट वस्ती निर्माण गर्दा भोगेको छु।’

जिग्री पाँडेले केही महिना अघि कान्तिपुर राष्ट्रिय दैनिकमा यी दृष्टिबिहिनहरुको समाचार पढेपछि आँफूहरुलाई सहयोग गर्ने इच्छा भएर राजविराजमै आएको प्रतिष्ठानका कोषाध्यक्ष समेत रहेका अर्जुन घिमिरे (पाँडे)ले बताए। उनले भने, ‘हामी दृष्टिबिहिन परिवारका लागी लत्ताकपडाहरु सहयोग गरौ भनेर यहाँ आएका थियौ तर, यहाँ आईसकेपछि उहाँहरुलाई आवासको पनि समस्या रहेछ त्यो देखेपछि हामीले घर बनाईदिने योजना गरेका हौ।’

करिब ३० लाख लगानीमा बन्न लागेको ३ घरका लागि देश तथा विदेशबाट अहिलेसम्म करिब १५ लाख सहयोग जम्मा भइसकेको र अझै करिब १५ लाख सहयोग जुट्न बाँकी रहेकोले सहयोगी मनहरुलाई सहयोग गरिदिनका लागी प्रतिष्ठानका अध्यक्ष कुमार कट्टेल (जिग्री)ले अनुरोध गरेका छन्।

उनीहरुले १५ लाखमा तीन घर निर्माण गर्ने र बाँकि १५ लाखले उनीहरुको स्वस्थ्य उपचार तथा शिक्षामा खर्च गर्ने बताएका छन्। यो अभियानमा जिग्री पाँडे प्रतिष्ठान नेपाल संगै सप्तरी युथ नेपालले र युवा अभियन्ता रमेश प्रसाद शाह पनि सहयोगमा जुटेका छन्।

SUBSCRIBE 👉