नवौं डि सिने अवार्ड २०७४: लिजेन्ड्री अवार्ड, रजत सम्मान र पत्रकारिता पुरस्कार


बासकोटालाई लाईफटाईम लिजेन्ड्री अवार्ड । खनाल र रानालाई रजत सम्मान । सुवेदीलाई पत्रकारिता पुरस्कार

नवौं छायाँछबी डि सिने अवार्ड अन्तर्गत यस पटकको ‘छायाँछबी लाईफटाईम लिजेन्ड्री अवार्ड–२०७४’बाट बरिष्ठ सँगीतकार तथा गायक शम्भुजीत बासकोटालाई सम्मान गरिने भएको छ। चार दशक भन्दा लामो समय देखि सँगीत श्रृजनामा लागेर चलचित्र सहित सबै प्रकारका नेपाली संगीतको संरक्षण, प्रवर्धन र विकाशमा अबिरल योगदान पु¥याएकाले बरिष्ठ सँगीतकार बासकोटालाई यो सम्मानबाट सम्मानित गर्न लागिएको हो।

बासकोटा एक दर्जन भन्दा बढी चलचित्रका कथाकार, करिब तीन सय ओटा चलचित्रका संगीतकार, चार हजार भन्दा बढी गीतका संगीतका सर्जक, गायक र गीतकार हुन्। नेपाल टेलिभजिन र चलचित्र विकाश बोर्डका कार्यकारी अध्यक्ष भईसकेका बासकोटा हाल नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हुन्।

यस्तै ‘छायाँछबी चलचित्रकर्मी रजत सम्मान–२०७३’बाट पुरुष तर्फ अभिनेता सरोज खनाल र महिलातर्फ अभिनेत्री रुपा रानालाई सम्मानित गरिने भएको छ। तीन दशक भन्दा लामो समयदेखि नेपाली चलचित्रबृत्तमा क्रियाशिल यी दुबैले अभिनेता / अभिनेत्रीका रुपमा चलचित्र बिजय पराजयबाट अभिनययात्रा सुरु गरेका हुन्। यी दुबै कलाकार तीन दशक देखि रँगमञ्च तथा सनोपर्दाका चलचित्रमा पनि सक्रिय छन्।

यस्तै यो वर्षको ‘छायाँछबी चलचित्र पत्रकारिता पुरस्कार–२०७४’बाट पत्रकार लक्ष्मण सुवेदीलाई पुरस्कृत गरिने भएको छ। डेढ दशकदेखि पत्रकारितामा निरन्तर लागेका सुवेदी चलचित्र तथा मनोरञ्जन विटमा कलम चलाउँछन्। हाल नयाँ पत्रिकामा बरिष्ठ उपसम्पादकका रुपमा कार्यरत सुवेदीलाई ९ हजार ९ सय ९९ रुपैयाँ र ताम्रपत्रबाट पुरस्कृत गरिने भएको छ। छयाँछबी यस पटक नवौं वर्षमा प्रवेश गरेकाले उनलाई पुरस्कार स्वरुप ९ हजार ९ सय ९९ रुपैयाँ प्रदान गर्न लागिएको हो।

२२ असारमा हेटौंडाको ओम्याक्स सिनेमा हलमा ‘नवौं डि सिने अवार्ड–२०७४’ आयोजना गरिँदैछ। सोही अवार्ड समारोहमा यी पुरस्कारहरु प्रदान गरिने निर्णय गरिएको छायाँछबी क्रियसनका अध्यक्ष शान्तिप्रियले बताए।

SUBSCRIBE 👉