सिनेमा घरहरुमा ‘सायद २’ र ‘म यस्तो गीत गाउँछु’ । तपाँई कुन फिल्म हेर्दै हुनुहुन्छ?


चलचित्र : सायद २ । निर्देशक : पुष्पराज न्यौपाने । कलाकार : सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुनिल रावल, सुशील सिटौला, निशा कार्की, रुविना श्रेष्ठ, बुद्धिलाल मगर आदि।

केही वर्षअघि निर्माता सुनिल रावलले आफ्नो ब्यानर दुर्गिश फिल्म्सबाट चलचित्र ‘सायद’ निर्माण गरेका थिए। चलचित्र ‘सायद’ले त्यतिबेला युवापुस्तामा लागूपदार्थको दुव्र्यसनले निम्त्याउने दुर्घटनालाई इंगित गरेको थियो। संयम पुरी, विल्सनविक्रम राईजस्ता कलाकार ‘सायद’पछि नेपाली चलचित्र क्षेत्रमा स्थापित भए। अहिले फेरि ‘सायद’कै सिक्वेलझैं गरेर चलचित्र ‘सायद–टु’ निर्माण भएको छ । ‘सायद’मा देखिएका कलाकार तथा निर्देशक ‘सायद–टु’मा दोहोरिएका छैनन्, यद्यपि प्रेममा हुने आवेग, घृणा एवं समर्पण यसपटक पनि त्यस्तै रहेको निर्माता रावलले बताएका छन्। सायद–टुमा रावलकै ‘होस्टल रिटन्र्स’बाट उदाएका सुशील श्रेष्ठ र सुशील सिटौलाबाहेक अन्य कलाकार नयाँ छन्।

यसका अर्का अभिनेता अमृत ढुंगाना युट्युबमा प्रसारण हुने सर्ट फिल्ममार्फत युवाहरूमाझ चर्चित अभिनेता हुन् भने कुशल पाण्डे नाटकहरूमा देखिने अभिनेता हुन्। आज शुक्रबारदेखि देशभर एकसाथ प्रदर्शन हुन लागेको चलचित्र ‘सायद–टु’मा पनि युवापुस्ताबीचको प्रेम–सम्बन्धलाई केलाइएको छ। चलचित्र ‘सायद–टु’मा राजुविक्रम थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, अष्ट महर्जनको द्वन्द्व निर्देशन तथा गोविन्द राई र विक्रम स्वाँरको नृत्य निर्देशन हेर्न पाइनेछ।

चलचित्र : ‘म यस्तो गीत गाउँछु’ । निर्देशक : सुदर्शन थापा । कलाकार : पूजा शर्मा, पल शाह, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला आदि।

चलचित्र ‘प्रेमगीत’ बाट प्रशंसा कमाएका निर्देशक सुदर्शन थापा, अभिनेत्री पूजा शर्मा तथा संगीतकार अर्जुन पोखरेल फेरि टिमअप भएर निर्माण गरिएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ पनि ‘प्रेमगीत’ जस्तै प्रेमकथात्मक चलचित्र हो। आज शुक्रबारदेखि देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ मा ‘प्रेमगीत’का अभिनेता तथा अरू केही प्राविधिक भने छैनन्। ‘प्रेमगीत’ का निर्माता र निर्देशकबीच विवाद भएपछि उक्त टिम छुट्टिएको थियो।

प्रेमगीतको निर्माता पक्षले ‘प्रेमगीत २’ तयार पारेको छ भने निर्देशक पक्षले ‘म यस्तो गीत गाउँछु’ तयार पारेको हो। चलचित्र ‘म यस्तो गीत गाउँछु’को गीत ‘भन्छु आज मनका कुरा’, ‘किन आजकल’, ‘म यस्तो गीत गाउँछु’ले चर्चा कमाइसकेको छ। यो फिल्ममा कविराज गहतराजको नृत्य निर्देशन, संजय लामाको छायांकन तथा प्रितम पाण्डेको सम्पादन छ।

SUBSCRIBE 👉