‘२ रुपैयाँ’को गीत युट्युबमा हिट – हेरिएको संख्या १ करोड माथि, निर्माण टिमले गर्यो पार्टी


चलचित्र ‘२ रुपैयाँ’को गीत ‘कुटुमा कुटु सुपारी दना…’ युट्युबमा हिट छ। युट्युबमा यो गीत १ करोड भन्दा बढी पटक हेरिएको छ। गत असार ३१ गते शनिबार बिहान यो गीतले १ करोड भ्यु नाघेर सबैभन्दा कम समयमा धेरै भ्यु पाउने पहिलो नेपाली फिल्मी गीत बनेको छ। निश्चल बस्नेत र स्वस्तिमा खड्काले कम्मर मर्काएको गीतले ४९ औ दिनमा १ करोड माथिको भ्युअर्स पाएको हो।

चलचित्रका निर्माता कम्पनीहरू जि टु वान प्रडक्सन र ब्ल्याक् हर्सले १ करोड भ्यु पुगेको खुसियालीमा एक कार्यक्रमको आयोजना नै गर्यो। कार्यक्रममा चलचित्र निर्माण टिमले केक काटेर सेलिब्रेशन गर्यो। सेलिव्रेसन कार्यक्रममा गीतकार, संगीतकार तथा गायक राजनरान सिवाकोटी, गायक तथा एरेन्जर राजन इशान, निर्देशक असिम शाह, नायक तथा निर्माता आशिफ शाह, कोरियोग्राफर कविराज गहतराज, नायिका स्वस्तिमा खड्का लगायतका कलाकारहरु सहभागी थिए।

‘कुटुमा कुटु सुपारी दना…’ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक असिम शाहले भने – ‘नेपाली भिडियोहरूले युट्युबमा १ करोड भ्यु पाउनु ठूलो उपलब्धि हो। यस्तो उपलब्धि प्राप्त गर्नु, त्यो पनि ५० दिन नपुग्दै, हाम्रा दर्शक र प्रशंसकहरूको ठूलो हात छ। गीत जस्तो छ, चलचित्र पनि त्यही लेभलमा बनेको छ।’ यो गीतलाई जस्तै चलचित्रलाई पनि दर्शकहरुले यस्तै माया दिनु हुनेछ भन्ने कुरामा आफु ढुक्क भएको बताए। उनले भने – ‘चलचित्रले पनि यसरी नै रेकर्ड बनाउँछ भन्ने कुरा मैले आशा राखेको छु।’

निश्चल वस्नेत, आसिफ शाह, बुद्धि तामांग लगायतका कलाकारहरुको अभिनय गरेहो यो चलचित्र भदौ २३ गतेबाट प्रदर्शन हुँदैछ।

SUBSCRIBE 👉