पोखरामा देखियो ‘ग्याङ्गस्टर ब्लूज’ क्रेज । फ्यान सेल्फिमा रमाए कलाकार


भदौ २ बाट प्रदर्शनमा आउने फिल्म ‘ग्याङ्गस्टर ब्लूज’ यतिबेला मोफसल प्रचारमा जुटेको छ। मुख्य कलाकार र सांगितिक टिम सहितको फिल्म निर्माण युनिट मोफसलका मुख्य शहर पोखरा, बुटवल, चितवन र हेटौंडा लगायतका ठाउँको लागी विभिन्न कार्यक्रम सहित भ्रमणमा निस्किएको हो।

फिल्म युनिटले शनिबार र आईतबार पोखराका विभिन्न ठाउँमा ‘स्ट्रिट कन्सर्ट’ सहित प्रचारात्मक कार्यक्रम सम्पन्न गरेको छ। पोखराको ट्रेड मलमा शनिबार साँझ आयोजित कार्यक्रममा स्थानिय सयौं दर्शक झुम्मिए। चर्चित संगीतकार तथा गायक कालिप्रसाद बाँस्कोटा अनि गायिका वाणिमा प्रधानको गायनमा कम्मर मर्काए । यस्तै लिड अभिनेता आशिरमान देशराज जोशी, संयम पुरी, अभिनेत्री द्वय आना शर्मा र रोजिशा शाहीसँग सेल्फीमा रमाए।

फिल्म मुख्यतः युवा पुस्ता पक्षित हुँदा निर्माण टिमले सोही प्रकारको ’पब्लिसिटी स्टाटेजी’ बनाएर आईतबार पोखरा आसपासका कलेजहरुमा पुग्यो। जहाँ अचम्मको माहोल बन्यो बिधार्थीहरु पढाई छाडेरै आशिर आना अनि संयमसँग अंकमाल गर्न, सेल्फी लिन अनि तश्विर खिचाउनमा निस्किए। आईतबार बिहान जनमैत्री क्याम्पस प्राङ्गणमा सम्पन्न कन्सर्टमा ५ सय बढि विधार्थीको सहभागिता देखीयो।

जेएमसीसँगै ला ग्राण्डी ईन्टरनेशनल कलेजमा भएको छुट्टाछुट्टै कार्यक्रमबाट आशिरमानलाई बाहिर निकाल्न नै आयोजकलाई मुश्किल परेको थियो। सेल्फीमा रहाउनेदेखि गालामा किस गर्ने अनि अटोग्राफ लिने भिन्न भिन्न प्रकारका आशिर क्रेजी फ्यानहरु पोखरामा भेटिए। पहिलो फिल्म रिलिजको छेकोमा नै आशिरमा देखिएको क्रेजले स्थानियबासीले उनलाई भोलीको स्टारको उपमा दिएका छन्। यस्तै लामो समयपछि दर्शकमाझ नजिकबाट पुगेका ‘सायद’ अभिनेता संयम पुरीको क्रेज पनि पोखरेलीमाझ उस्तै देखियो भने ‘जेरी’ पछि पर्दामा ’ग्याङ्गस्टर ब्लूज’बाट पर्दामा पुनरागमन गर्दै गरेकी आना पनि सोहि प्रकारले घेरिईन्।

कार्यक्रममा फिल्म युनिटले क्विज कन्टेस्ट पनि सम्पन्न गरेको छ। फिल्मसँग सम्बन्धित रहेर गरिएका प्रश्नको सहि उत्तर दिने मध्येबाट पोखरामा भदौ १ गते हुने प्रिमियरको लागी सात जना दर्शकले कलाकारसँगै रहेर फिल्म हेर्ने अबसर आफ्नो पक्षमा पारेका छन्।

आयोजित पत्रकार भेटघाटमा फिल्म निर्देशक हेमराज बिसीले पोखरेली दर्शकले दिएको माया र सद्भावलाई भदौ २ मा रिलिजपछि फिल्मले न्याय गर्ने बताए। पछिल्लो पुस्ताका दर्शकको मनोभावनालाई सम्बोधन गर्ने किसिमले फिल्म बनाएको भन्दै बिसीले दर्शकलाई आफ्ना पछिल्ला सबै फिल्मले भन्दा फरक स्वाद ‘ग्याङ्गस्टर ब्लूज’ले दिने दाबी पनि गरे।

भिडियो :

निर्माता सरोज न्यौपानेले पोखरेली दर्शकले फिल्मप्रति देखाएको उत्सुकता अनि चासो तथा अभिनेता अभिनेत्री प्रतिको क्रेजले फिल्म सफलताको संकेत मिलेको बताए। आईतबारको पोखरा कार्यक्रम सकाएर फिल्म टिम बुटवल पुगेको छ। सोमबार तथा मंगलबार बुटवलमा कार्यक्रमपछि बुधबार ‘ग्याङ्गस्टर’ टिम चितवनका कार्यक्रममा सहभागी हुनेछ। त्यसपश्चात शुक्रबार र शनिबार हेटौंडामा हुने प्रचारात्मक कार्यक्रम तथा कन्सर्टमा कलाकार सहितको टिम उपस्थित हुनेछ।
तस्विरहरु : मिलन ढुङ्गाना

SUBSCRIBE 👉