मधुसँग इन्गेजमेन्ट गर्दै राजेशले भने: ‘सपना आज पुरा भएको छ’ (फोटो र भिडियो सहित)


rajesh-hama-madhu-bhattarai-engagement (8)
ग्ल्यामर नेपाल, काठमाडौं । नेपाली फिल्मका महानायक राजेश हमालले सञ्चारमाध्यममाझ पहिलोपटक आफ्नी प्रेमिका मधु भट्टराईलाई सार्वजनिक गरेका छन् । राजधानीको लैनचौरस्थित होटल शंकरमा आयोजित विशेष कार्यक्रममा उनले प्रेमिकालाई सार्वजनिक मात्र गरेनन्, मधुको गलामा आफ्नी आमाको चिनोको रुपमा रहेको नेकलेस लगाएर आफ्नो श्रीमति बन्न प्रपोज पनि गरे।

मधुलाई गलामा नेकलेस, हातमा चुरा र औलामा औठी लगाएपछि हमाल केही भावुक देखिए। ‘मेरो आमाको एउटा सपना आफ्नो चिनो बुहारीको गलामा परोस् भन्ने थियो,’भावुक बनेका हमालले भने,‘त्यो सपना आज पुरा भएको छ, म अत्यन्त खुशी छु, हामीले एकअर्कालाई एकापसमा चिनेर राम्रो माहौल बन्दै गएपछि आजको अवस्थामा आईपुग्यौं।’ हमालले आफुहरुको व्यक्तिगत निर्णयका आधारमा विवाह गर्ने योजना बनाएको बताए।

तपाईले साइत नै ननिस्किएको दिन विवाह गर्ने हल्ला छ नि भनी सोधिएको प्रश्नमा हमालले दुवैजनाको कुरा मिलेको अवस्थामा साइत हेराई रहनु नपर्ने धारणा राखे। ‘हाम्रो लागि हरेक समय शुभ साइत हो, हामी दुई जनाको कुरा मिलेपछि साइत हेराई रहनुपर्छ जस्तो लाग्दैन,’ उनले भने,‘हाम्रो विवाहको दिन हाम्रा लागि शुभ दिन हो।’ राजेश र मधुको उमेर अन्तर निकै फरक छ। ‘राजेश हमाल कहिल्यै बुढो हुन्छ र ?’उमेर अन्तरका बारेमा सोधिएको प्रश्नमा हमालले भने,‘साँचो माया गर्नलाई उमेरले छेक्छ जस्तो लाग्दैन।’

राजेश र मधुको पहिलो भेट नौ वर्ष अघि राजधानीको पाँचतार होटल हायात रिजेन्सीमा भएको थियो । हमालले पहिलो भेटमा मधुलाई भिजिटिङ कार्ड दिएका रहेछन् भने मधुले चाहिँ हमाललाई फोन गरेकी रहिछन्। राजेशको कुरा सुनिरहेकी मधुले केही पनि बोलिनन्। ‘उहाँ आज बोल्नुहुन्न।’ हमालका निजी सचिव रोशन हमाल सञ्चारकर्मीलाई भनिरहेका थिए।

होटलमा पत्रकारलाई सात बजे बोलाइए पनि निर्धारित समयमा पुगेका पत्रकारलाई होटल बाहिरको बगैचामा राखिएको थियो। राजेश र मधु चाहिँ होटल भित्रको एक कोठामा टेबलमा वाइनको बोटल, केही क्याण्डिलको उज्यालोमा गफ गरिरहेका थिए। करिब आधा घण्टापछि उनीहरु गरिरहेको स्थलमा पत्रकारलाई पु¥याउँदा माहौल निकै परिवर्तन भईसकेको थियो। पहिलोपटक देखिएकी राजेशकी प्रेमिकाको तस्वीर लिन सञ्चारकर्मी तछाडमछाड गरिरहेका थिए।

राजेश र मधु बसेको टेबलको छेउमा हमालका स्वर्गीय आमाबुबाको तस्वीर राखिएको थियो भने टेबल फूलको सजावटमा सजिएको थियो। हमालले मधुलाई नेकलेस लगाईरहँदा हमालले मितको रुपमा लिने भर्सटाइल गायक राजेशपायल राई हमाल अभिनित फिल्म ‘द युगदेखि युगसम्म’को ‘न कुनै बन्धन, न कुनै परिधि’ बोलको गीत गाएर माहौललाई सांगीतिक बनाईरहेका थिए। अझ त्यही गीतको लयमा छेउमै रहेका एक व्यक्तिले भ्वाइलिन बजाउँदा हमाल निकै खुशी देखिएका थिए।

मे २८ कै दिन राजेश र मधुको भेट भएकाले हमालले यही मितिको दिन रिसेप्सन राख्ने योजना बनाएका छन्। ‘बिहे जेठ ९ या १० गते हुनसक्छ,’उनले भने,‘ बिहेमा आफ्ना रगतका नाता भएकाहरुलाई मात्र बोलाउने योजना छ।’ हमालले विवाह लगत्तै आफु १५ दिनका लागि अष्ट्रेलिया जान लागेको बताए। ‘त्यसपछि मात्र हनिमुन मनाउन पाइएला।’ हाँस्दै हमालले भने।

हेर्नुहोस थप एक्सक्लुसिभ तस्वीरहरु – यहाँ क्लिक गर्नुहोस

SUBSCRIBE 👉