हिरोइनबाटै सौतेनी व्यवहार !


ग्ल्यामर नेपाल, काठमाडौं । पछिल्लो समय फिल्म प्रमोसनमा कलाकारहरू निकै उदार हुन थालेका छन्। दर्शकलाई हलसम्म ल्याउन प्रमोसनलाई नै प्रमुख अस्त्र बनाउन थालिएको छ। ‘झोले’, ‘नोभेम्बर रेन’, ‘नाइँ नभन्नु ल २’ जस्ता फिल्मले सफलता पाउनुको पछाडि प्रमोसनको पनि निकै ठूलो भूमिका रहेको बताइन्छ। सोही कारण कलाकारहरू प्रमोसनमा अझ सक्रिय हुन थालेका छन्। त्यसमाथि नयाँ पुस्ताका कलाकारहरू फेसबुक, ट्विटर, यूट्युबजस्ता सामाजिक सञ्जालमा पनि फिल्मको प्रमोसन गर्न अगाडि देखिएका छन्। यसरी प्रचारप्रसारमा नयाँ लहर देखिरहेका बेला गत शुक्रबारबाट यस्ता तीन फिल्म रिलिज भएका छन्, जसलाई कलाकारले पूर्ण बेवास्ता गरे। अझ हिरोइनहरूबाट त सौतेनी व्यवहार नै सहनुपर्‍यो। जसको असर फिल्मको कलेक्सनमा गरेको छ। त्यस्ता अभागी फिल्म हुन्, ‘ठूलो मान्छे’, ‘खुड्किलो’ र ‘पीपल’। रमाइलो संयोग कस्तो भने शुक्रबारबाटै प्रदर्शनमा आएको अर्को फिल्म ‘आवरण’ले भने आफ्नी नायिका प्रियंका कार्कीबाट प्रमोसनमा यथेष्ट साथ पायो।

keki-arunima-reecha

Keki Adhikari | Arunima Lamsal | Reecha Singh Thakuri

प्रशान्त तामाङको निर्देशनमा तयार भएको फिल्म ‘ठूलो मान्छे’मा केकी अधिकारीको मुख्य भूमिका रहेको छ। केकीको बढ्दो क्रेज र अघिल्ला फिल्महरूको प्रमोसनमा देखिएको सक्रियताले निर्देशक प्रशान्त खुसी थिए। आफ्नो फिल्मलाई पनि केकीले प्राथमिकतामा राखेर प्रमोसन गर्ने उनको विश्वास थियो तर भइदियो उल्टो। फिल्म रिलिजको मुखमा केकी सम्पर्कबाहिर रहिन्। प्रमोसनमा उनको सक्रियता शून्य समान रह्यो। हाल उनी सुवर्ण थापाले निर्देशन गरिरहेको फिल्म ‘फन्को’को सुटिङका क्रममा पोखरा पुगेकी छिन्। काठमाडौंमै रहँदा पनि उनले फिल्म प्रमोसनमा सक्रियता देखाइनन्। यो फिल्ममा केकीबाहेक अरू चिनिएका कलाकार नभएकोले फिल्मको प्रचार शुन्य रहयो। देशको अवैज्ञानिक शिक्षा प्रणालीमाथि प्रश्न उठाउन खोजिएको यस फिल्ममा निर्देशकस्वयम र ६ कक्षामा पढ्ने ६ जना विद्यार्थीको पनि अभिनय रहेको छ।

शुक्रबारबाटै प्रदर्शनमा आएको अर्को फिल्म ‘खुड्किलो’ले पनि मुख्य नायिका ऋचासिंह ठकुरीको साथ पाएन। पछिल्लो केही समययता ऋचा सार्वजनिक कार्यक्रममा देखिएकी छैनन्। त्यसैले यो फिल्मको प्रमोसनमा पनि उनलाई देखिएन्। सोही कारण निर्देशक जनकराज खकुरेल अहिले पश्चाताप मानिरहेका छन्। फिल्ममा ऋचाबाहेक नवनायक किरण लाकौलको अभिनय रहेको छ। प्रमोसन कम भएका कारण फिल्मले हल पनि कम पाएको छ।

हिरोइनबाट सौतेनी व्यवहार सहने अर्को फिल्म हो, ‘पीपल’। निरञ्जन कसजू निर्देशित यस फिल्लमा अरुणिमा लम्सालको मुख्य भूमिका रहेको छ। छोरी हुर्काउन व्यस्त अरुणिमा प्रमोसनमा खट्न सकिनन्। उता, फिल्मका नायक किशोर खतिवडा पनि प्रचारप्रसारमा देखिएनन्। उनी आफ्ना अघिल्ला फिल्मको प्रमोशनमा पनि त्यति खट्दैनथे। मुख्य कलाकारले नै वाल नदिएपछि अमिरसिंह ठकुरी, धु्रव कोइराला र सुषमा अधिकारीजस्ता कलाकारले पनि प्रमोसनमा सक्रिय भएनन् । त्यसैले जातीय छुवाछूत, अन्धविश्वास र कुरीतिका विरुद्ध बोल्ने यस फिल्मको चर्चा शून्य छ।

तर शुक्रबारबाटै प्रदर्शन आएको अर्को फिल्म ‘आवरण’ भने भाग्यमानी ठहरिएको छ। फिल्मकी मुख्य नायिका प्रियंका दिलोज्यान दिएर प्रमोशनमा लागिन्। सुशीलराज पाण्डे र दिव्यदेव पनि सक्रिय देखिए। फिल्म युनिटले देशदौडाहा पनि गर्‍यो। तुलनात्मक रुपमा अन्य तीन फिल्मभन्दा यो फिल्मको ब्यापार राम्रो रहेको बताइन्छ।

SUBSCRIBE 👉