मंसिर १५ देखि चलचित्र ‘फिक्का’ प्रदर्शन हुने


ग्रामिण क्षेत्रमा व्याप्त गरिवीको विषयवस्तुमा आधारित चलचित्र ‘फिक्का’ को सार्वजनिक प्रदर्शन मंसिर १५ गतेदेखि प्रारम्भ हुने भएको छ। पारिवारिक प्रेमकथालाई समेत चित्रण गरिएको यो चलचित्रलाई नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष तथा नेपालकी पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठले निर्माण गरेकी हुन्।

युवा निर्देशक जनक खड्काद्वारा निर्देशित उक्त चलचित्रका प्रस्तुतकर्ता अजय सुनार हुन्। उनी जापानमा बसोबास गर्छन्। कान्तिपुर टेलिभिजनबाट प्रसारण भैरहेको हास्य कार्यक्रम ‘ट्वाक्कटुक्क रिटन्र्स’ का सहायक निर्देशकको रुपमा कार्यरत खड्काले यसअघि २१ वर्षकै उमेरमा चलचित्र ‘२१ वर्ष’ निर्देशक गरेका थिए।

यसअघि जापानमा प्रदर्शन भैसकेको चलचित्र ‘फिक्का’ मा अजय सुनार, दुर्गाराज पाण्डे, शर्मिला नेपाल, राधिका घिमिरे, ईश्वरी बराल, मुस्कान काप्री आदि कलाकारले अभिनय गरेका छन्। रीता खाती सुनारको लेखन, एनबी अञ्जानको कला निर्देशन रहेको यो चलचित्रमा राजु श्रेष्ठको सम्पादन, अनन्त घिमिरेको कलर करेक्सन, अमित श्रेष्ठले व्याकग्राउण्ड म्युजिक तथा मिक्सिङ गरेका छन्। चलचित्रलाई सुनिल मानन्धरले वितरण गर्न लागेका हुन्।

नेपालसहित बेल्जियम, स्पेन, बेलायत, बहराइन सहितका देशमा समेत यो चलचित्र प्रदर्शन हुने चलचित्रका प्रस्तुतकर्ता तथा अभिनेता अजय सुनारले बताएका छन्।

SUBSCRIBE 👉