क्यू एफ एक्सको फिल्म ‘द म्यान फ्रम काठमाण्डू’ । जोसे म्यानुअएल र गुल्सन ग्रोवरको साथमा देखिदैछिन् आना शर्मा


क्यू एफ एक्सका प्रमुख नकिम उद्दिनले चलचित्र निर्माण गर्न शुरु गरेका छन्। उनले आफ्नो फिल्म निर्माण कम्पनि ‘ट्री–सिटी’ को ब्यानरमा एक्शन फिल्म ‘द म्यान फ्रम काठमाण्डू’ को सुटिंग शुरु गरेका हुन्। यसअघि क्वेस्ट इन्टरटेनमेन्टबाट फिल्म निर्माण गरेपनि अहिले उद्दिनले आफ्नै कम्पनीबाट फिल्म निर्माण गर्न लागेका हुन्।

हलिउड र बलिउडमा फिल्म निर्देशन एवं निर्माणमा अनुभव बटुलेका पेमा धोन्डुपले यो फिल्म निर्देशन गर्दैछन्। उनको अघिल्लो फिल्म ‘वी आर नो मंक्स’ हलिउडमा रिलिज भएको थियो जसमा भारतीय अभिनेता गुल्सन ग्रोवर समेत थिए।

यसपटक उनै गुल्सनलाई लिएर पेमा नेपाल आइपुगेका छन्। बलिउड ब्याडम्यानले चिनिने गुल्सन यो फिल्मको भिलेन हुन्। फिल्ममा उनी अबु मियाँ नामक खलनायकको भूमिकामा देखिने छन्।

हलिउडमा स्टन्ट कोरियोग्राफरले समेत चिनिने जोसे म्यानुअएल फिल्मका मुख्य अभिनेता हुन्। उनी फैसल मुस्तफाको भूमिकामा हुनेछन्। उक्त पात्र लस एन्जल्समा बस्ने हिन्दु–मुस्लिम गैरआवसिय नेपालीको रुपमा हुनेछ।

पाकिस्तानी अभिनेता हमिद शेख फिल्मका अर्का मुख्य कलाकार हुन् जसको फिल्म मुर सन् २०१५ मा अस्कर अवार्डमा मनोनित भएको थियो। नीर शाह, आना शर्मा, शिशिर बाङ्देल, कर्मा मुख्य भूमिकामा छन्।

तीन करोड बजेट बताइएको सिनेमाको ९० प्रतिशत छायांकन नेपाल र बाँकी हलिउड सहर लस एन्जल्समा हुने निर्माता उद्दिनले बताए। अहिले काठमाडौं र ललितपुरका विभिन्न स्थानमा फिल्मांकन भैरहेको छ। मुख्य भाषा अंग्रेजी रहने गरि छायांकन भएको फिल्मलाई नेपालीमा स्वरांकन समेत गरिने भएको छ।

अमेरिकन–नेपाली एक युवा जो हाफ हिन्दु–मुस्लिम पनि हो। अमेरिकादेखि काठमाडौंसम्मको उसको यात्रा चित्रण छ। काठमाठौं आउने क्रममा ऊ हराएका बुवालाई खोज्न सिरिया जान्छ। उसको भेट स्थानीय डनसँग हुन्छ जसले उसको हजुरबुबाको हत्या गरेको हुन्छ। द्धन्द्ध अघि बढ्दै जाँदा फैसल आफ्नो नेपाली पहिचान, संस्कृति र परम्परासँग एकाकार हुन आइपुग्छ। आना र जोसे म्यानुएलले स्क्रिन सेयर गर्दैछन्।

निर्माताको रुपमा नकिमले पेमासँग टीमअप गरेका हुन्। स्क्रिनप्ले पेमा स्वयमको हो। कार्लोस मेडिनाको छायांकन, एरिक कारखेकको सम्पादन, जोसे म्यानुएलको द्धन्द्ध समावेश हुनेछन्।

‘मलाई लाग्छ, राम्रो विषयवस्तु र प्राविधिक गुणस्तरले गर्दा हामी विश्व फिल्मकै उचाइमा पुग्न सक्छौं’ निर्देशक धोन्डुपले भने, ‘यो विश्वव्यापी मूल्य बोकेको फिल्मले सबै खाले दर्शकको मन अवश्य छुनसक्छ।’

SUBSCRIBE 👉